arrow

विकासका लागि विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
deuba-prachanda-binod-chaudhary.jpg

नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन् । नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए । 

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी शर्मा ओलीले बीचमा नै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे । 

संसद विघटन नगर्ने र जनताले दिएको अभिमत पुर्ण रुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे । चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने भन्दै  देउवाले नवलपरासी पश्चिमका मतदातालाई भने, ‘तपाईहरू विनोद चौधरीलाइ जिताएर पठाउनुस् हामी उहाँमार्फत यस जिल्लामा विकास पठाउँछौं ।’

चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गतेको चुनाव पाण्डव र कौरबबीचको महाभारत युद्ध जस्तै भएकाले जनताले पाण्डवहरुको पक्षमा मतदान गर्न आग्रह गरे ।

 ‘मंसिर ४ मा जनताले कौरब र पाण्डव मध्ये एक रोज्नुपर्ने अवस्था छ । जनताको अभिमतको अवमुल्यन गर्ने कौरबहरुको पराजय निश्चित छ ।’ उनले भने, ‘मतदाताले लोकतान्त्रिक वाम गठबन्धनको पाँच पाण्डवहरुका उम्मेदवारलाई विजय गराउने छन् ।’

कार्यक्रममा बोल्दै प्रचण्डले विनोद चौधरीको विजय यो क्षेत्रको विकासको कोषेढुङ्गा सावित हुने बताए । ‘चौधरीको उम्मेद्बारी तपाई आम मतदाताको सुनिश्चित भविष्य हो विजय गराउनुहोस् अरु हामीले गर्छौं’, उनले भने ।

सोही कार्यक्रममा काग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आफूले यस क्षेत्रका जनताले भोगेको मल, बीउ, डुबान तथा बेरोजगारीको समस्यालाई योजनाबद्ध रुपमा समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । २५ वर्षसम्म रोकिएको विकासलाई अब गति दिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ