arrow

दिएका बाचा पूरा गरेसँगै बढेको आत्मविश्वाससहित मतदातामाझ सञ्चारमन्त्री कार्की 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
gyanendra-bahadur-karki-2079.jpg
तस्बिर – फाइल ।

सुनसरी । गृहजिल्ला भोजपुरबाट यसअघिका निर्वाचनमा सफलता हात पार्न नसकेका पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की अघिल्ल्लो चुनावमा सुनसरीबाट उदाए । तत्कालीन समयमा वाम गठबन्धनलाई तोड्दै कार्की पहिलोपटक जिल्ला परिवर्तन गरी सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गरी एमालेका स्थानीय नेता रमेश श्रेष्ठलाई पराजित गरेका थिए । कार्कीले प्रतिनिधि सभा सदस्यको लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट यसपटक पनि उम्मेद्वारी दिएका छन् । क्षेत्रमा दोस्रो पटक चुनाव लडेका कार्कीसँग एमालेका उम्मेद्वार जगदिश कुसियतसँग प्रतिस्पर्धा गर्दैछन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८, रामधुनी नगरपालिका ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् । 

जसमध्ये गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो निर्वाचन क्षेत्रमा पर्ने अधिकांश वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । सोही कारण पनि कार्की उत्साहित छन् । ‘मैले पाँच वर्षमा विकासका धेरै कामसमेत अगाडि बढाएकाले जनता मेरो पक्षमा रहेका छन्,’ कार्कीले भने ।

सत्तारुढ गठबन्धनको मत र एमालेले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई हेर्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कार्कीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने अनुमान गर्न सकिन्छ । विगतमा बाम गठबन्धनलाई समेत तोडेर चुनाव जितेकाले यसपटक झनै सजिलो चुनाव जित्नेमा कार्की ढुक्क देखिन्छन् ।

स्थानीय जनता र मतदातामाझ चिनिएका उनी दोस्रो पटक निर्वाचित भएर प्रतिनिधि सभामा पुग्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका छन् । ‘म क्षेत्रका लागि मात्रै नभएर समग्र मुलुकको विकासमा केन्द्रित हुने मान्छे हुँ, आफ्नो क्षेत्रमा स्वभाविक रुपमा काम गर्ने नै छु,’ कार्कीले भने ।

मुख्य प्रतिस्पर्धी देखिएका एमालेका नेता कार्यकर्ता नै चुनावको मुखमा कांग्रेस प्रवेश गरेपछि मन्त्री कार्की झनै उत्साहित छन् ।  केही दिनअघि हरिनगरको घुस्कीमा दुई सय ५० जना, भोक्राहा नरसिंहमा नेकपा एमाले जिल्ला सदस्य रमेश यादवसहित ५० जना भन्दा बढी र कोशीमा १ सय भन्दा बढी चुनावी सभा कार्यक्रमबीच नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

एकातर्फ प्रमुख प्रतिस्पर्धी पार्टीका नेता–कार्यकर्ता धमाधम नेपाली कांग्रेसमा प्रवेश गरिरहेको र अर्कातर्फ सत्ता गठबन्धनको बलियो साथ पाउँदा ज्ञानेन्द्रबहादुर कार्की उत्साहित छन् । ‘अहिले हाम्रो पक्षमा निकै राम्रो माहौल बनिरहेको छ, जनताहरू विकास र समृद्धिको पक्षमा देखिएका छन्,’ मन्त्री कार्की भने ।

पाँच वर्षअगाडि जनतासँग गरेका बाचा अधिकांश पूरा गरेको र नयाँ ठूला आयोजना अगाडि सारेकोसमेत कार्की बताउँछन् । जनतालाई झुक्याएर निर्वाचित हुने र गरेका बाचा पूरा नगर्ने काम विगतमा भएको उल्लेख गर्दै आफू सधैँ जनताको पक्षमा रहेको दाबी कार्कीको छ ।

सुनसरीका जनताले कार्कीलाई भावी अर्थमन्त्रीको रुपमा समेत हेरेका छन् । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक रहेका कार्की अर्थमन्त्री बन्ने आत्मविश्वासका साथ चुनावी दौडमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ