arrow

नेकपा चार टुक्रा भएपछि स्याङ्जा १ मा कांग्रेस उम्मेदवार बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
raju-thapa-congress-syangja.jpg

काठमाडौं । नेपाली कांग्रेसबाट स्याङ्जा १ मा उम्मेदवार बनेका राजु थापा जित उन्मुख रहेको दाबी गरिएको छ । नेकपा एमालेका नारायण मरासिनीसँग तेस्रोपटक प्रतिस्पर्धामा रहेका थापाले यसपटक प्रतिस्पर्धीलाई हराउने दाबी कांग्रेसले गरेको छ । गत स्थानीय तहको मतको आधार, एमालेमा विभाजन तथा मरासिनीको संसदीय भूमिका कमजोर रहेकाले कांग्रेसले जित्ने दाबी गरिएको छ ।

२०७४ सालमा स्याङ्जा १ बाट निर्वाचित भएर संघीय सांसद बनेका एमालेका मरासिनीले जिल्लामा कुनै उल्लेखनीय कार्य गर्न नसकेको जिल्लाका नेताहरु बताउँछन् । संसदमा र क्षेत्रमा नदेखिने सांसदका रुपमा मरासिनीको चित्रण जिल्लामा हुने गरेको छ । ‘नीति बनाउनका लागि संसदमा बेजोड तरिकाले बोलेको पनि कहिले सुनिएन । जिल्लाका विकास निर्माणका कार्यमा समेत नारायण मरासिनीको खास योगदान छैन ।’ जिल्लाका कांग्रेसका एक नेता भन्छन्,‘जनप्रतिनिधि भएर गएकाले कुनै काम गर्न नसक्ने हो भने फेरि किन जिताउने भन्ने मतदातामा परेको छ ।’

मरासिनीलाई २०७० सालमा भने कांग्रेसका हालका उम्मेदवार थापाले हराएका थिए । २०७४ सालमा वामगठबन्धनको बलमा मरासिनी निर्वाचित भएका थिए । 

तत्कालीन नेकपा नै चार टुक्रा भएकाले थापालाई यसपटक जित निकाल्न सहज भएको विश्लेषण गरिएको छ । अर्कोतर्फ, थापालाई गठबन्धनको मत पनि थपिने भएको छ । स्याङ्जा १ को (क) मा माओवादी केन्द्रको केन्द्रीय नेता उम्मेदवार हुँदा थापाका लागि वातावरण थप मजबुत बनेको छ । कांग्रेस सहित माओवादी केन्द्र, एकीकृत समाजवादीको मत थापाको पक्षमा खस्ने भएको छ । 

थापा स्वयं कांग्रेसको जिल्ला सभापति हुनाले पनि मतदातामा उनि प्रतिको विश्वास बढेको छ । यसपटक आफ्नो जित सुनिश्चित भएको थापाले बताए । ‘अघिल्लोपटक वामगठबन्धन बनेर नारायण जीले जित्नु भएको हो । कांग्रेस आफैंमा बलियो शक्ति बनेको छ । स्थानीय मतको आधारमा पनि हामी पहिलो दल हो ।’ उम्मेदवार थापाले भने,‘सबै दृष्टिकोणले मलाई सजिलो भएको छ । जित निश्चित जस्तै हो । कति अन्तरले जित्ने भन्ने मात्रै हो ।’

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्याङ्जा १ मा कांग्रेसले मत बढाएको छ । पहिलो दल बनेको कांग्रेसले ३७ हजार ५१० मत ल्याउँदा एमालेको पक्षमा ३६ हजार ८४५ मत खसेको थियो । माओवादी केन्द्र १ हजार ९८४ मत ल्याउँदा एकीकृत समाजवादीले स्याङ्जा १ क्षेत्र भरिमा १४६ मत प्राप्त गरेको थियो ।

यस क्षेत्रमा पुतलीबजार नगरपालिका, अर्जुनचौपारी, आँधीखोला, फेदीखोला, विरुवा हरिनास गाउँपालिका र भीरकोट नपाको १ देखि ४ सम्मका वडा र वालिङ नगरपालिकाको ३ र ४ वडा पर्दछन् ।

स्थानीय तहमा पुतलीबजार, भिरकोट, अर्जुनचौपारीमा कांग्रेसले जितेको छ । आँधीखोला, फेदीखोला, विरुवा, हरिनासमा एमाले विजयी भएको छ । एमालेले जितेको फेदीखोला, विरुवा, हरिनासमा कांग्रेस झिनो मतान्तरले हारेको थियो । थापाको व्यक्तित्वका कारणले पनि कांग्रेसको मत बढ्ने विश्लेषण जिल्लामा हुने गरेको छ । पार्टी भित्रका दुबै समूहसँग समदुरी राख्न थापा सफल भएकाले कांग्रेसको सम्पूर्ण मत खनिनेमा जिल्लाका नेताहरु विश्वस्त छन् । 
२०७४ विजयी हुँदा ३९ हजार २२६ मत पाउँदा पाएका थिए । अघिल्लोपटक थापाको पक्षमा २८ हजार ६६२ मत खसेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ