arrow

अविचलित डीना

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ मंसिर १ बिहिबार
mahalaxmi-upadhaya-dina.jpg

हेटाैंडा । महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानपुर मात्रै नभई राष्ट्रिय राजनीतिमा पनि परिचित नाम हो । मकवानपुरलाई भूगोल बनाएर देशकै राजनीतिमा सक्रिय उनी यसअघि पनि पटक पटक प्रत्यक्षतर्फ निर्वाचनमा होमिएकी थिइन् । यद्यपि जित भने निकाल्न सकेकी छैनिन् । यो पटक पनि उनले प्रत्यक्षमै उम्मेदवार बनेर चुनावी अभियानमा होमिएकी छिन् ।

मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएका ४ महिलामध्ये उनी एक हुन् । सहजै समानुपातिकबाट सांसद हुने निश्चित भए पनि जनताको प्रत्यक्ष मतबाट निर्वाचित हुन्छु भन्दै उनी मैदानमा हाेमिइन् ।

अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी उनी नेपालको प्रजातन्त्रलाई पुनःस्थापना गर्ने सम्बन्धमा कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहमा जेलसमेत परेकी थिइन् । गिरिजाप्रसाद कोइराला, नोना कोइराला, सुशील कोइराला, शैलजा आचार्यहरुसँगै जेल परेकी उनले नेपालमा प्रजातन्त्र पुनःस्थापना, संविधान निर्माणसँगै महिला, आदिबासी जनजाति र दलितहरुको क्षेत्रमा काम गरेकी छिन् । डीना मकवानपुरमा पहिलोपटक महिला साक्षरता शरु गर्ने अभियानकर्तासमेत हुन् । यसकारण पनि उनी हिम्मतवाली हुन् भन्दा फरक पर्दैन ।

उनले प्रौढ शिक्षामार्फत महिलाहरुलाई साक्षर बनाउने अभियान शुरु गरेको थिइन् । पहिलो  गैरसहकारी संस्था स्थापना गर्ने व्यक्ति पनि हुन् । महिला साक्षरता अभियान भनेर शुरुशुरुमा नेपाल महिला संघबाट डीनाले आफैँ पैसा उठाएर गाउँमा शिक्षक पाउन मुस्किल रहेका बेला बजारबाट शिक्षक पठाएर पनि कार्यक्रमलाई निरन्तरता दिएकी थिइन् ।

वि सं २०४८ सालदेखि मकवानपुरको चुनावी मैदानमा डीना लगातार जस्तै आएकी छिन् । उनले २०३६ सालको विद्यार्थी आन्दोलनबाटै राजनीति शुरु गरेकी हुन् । २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापति निर्वाचित उनी २०४६ को आन्दोलनपश्चात निरन्तर सक्रिय राजनीतिमा छिन् ।

२०४७ सालमा नेपाली कांग्रेसको नेपाल महिला संघको मकवानपुर जिल्ला सभापति, २०४९ मा महासमिति सदस्य बनिन् । १५ वर्षभन्दा बढी कांग्रेसको केन्द्रीय सदस्य रहेकी उनी २०७८ मा सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट सहमहामन्त्री चुनिएकी हुन् ।

पहिलो संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य भएकी उनले २०६४ सालमा जलस्रोत राज्यमन्त्रीका रुपमासमेत कार्यभार सम्हाल्ने अवसर प्राप्त गरिन् ।

महिला सशक्तिकरणको अभियानमा डीना  

२०३९ सालबाट राजनीति शुरु गरेकी डीना मकवानपुरमा महिलाहरुको सशक्तिकरणको अभियान सञ्चालन गरेकी अभियन्ता हुन् । उनले मकवानपुरमा पहिलो पटक निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रोढ शिक्षाको मात्रै शुरुआत गरिनन् महिलालाई आर्थिक रुपमा सशक्त गर्ने अभियान पनि चलाइन् ।

डीनाले मकवानपुरको महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा शसक्त बनाउन विभिन्न तालिमहरु सञ्चालन गरेर महिलालाई व्यवसायसँग जोड्ने तथा सहकारीमार्फत उनीहरुलाई आर्थिक रुपमा सवल बनाउने अभियान पनि चलाइन् । उनले २०५५ सालमा मकवानपुरमा दिव्यतारा बहुउद्वश्यीय सहकारी स्थापना गरिन् । उक्त सहकारीको संस्थापक अध्यक्ष डीनाले सहकारीमार्फत महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि गाउँ–गाउँमा पुगिन् ।

जिल्लाको विभिन्न विकट गाउँमा पुगेर उनले महिलाहरुलाई सहकारीमा जोड्दै उनीहरुलाई आत्मनिर्भर बनाउने अभियान शुरु गरिन् । हाल उनी उक्त सहकारीको संरक्षक छिन् । डीनाले महिला सशक्तिकरणको लागि खोलेको सहकारीले हाल रेडियो, सुपथ सहकारी पसल र शुद्ध तोरीको तेल उद्योग चलाइरहेको छ ।

त्यस्तैगरी कृषि स्रोत केन्द्र साबुन र गोलभेडा प्रसोधन उद्योग सन्चालनको तयारी पनि गरिरहेको छ । ११ हजार पाँच सय ७९ शेयर सदस्य रहेको उक्त सहकारीले महिलासँगै युवा स्वरोजगार र किसानहरुले उत्पादन गरेको कुरालाई पनि प्राथमिकतामा राखेर विभिन्न कार्य गर्दै आएको छ ।

हरेक महिना गाउँ गाउँ जान्छु

डीनाले चुनावपछि पनि निरन्तर जनताको सुख दुःखमै रहने प्रतिबद्धता जनाएकी छिन् । मतदाताकोमा पुग्ने क्रममा धेरैले यसअघि जितेर गएका नेताहरु गाउँ नफर्केको गुनासो गरेको भन्दै उनले जनताको समस्या र गुनासो सुन्न कम्तीमा महिनामा एक पटक गाउँगाउँ जाने प्रतिबद्धता जनाएकी हुन् ।

उनी भन्छिन् ‘म सांसद् बन्नका लागि मात्रै तपाईंहरुको माझ आएको होइन, समानुपातिकको सहज बाटोबाटै सांसद् बन्न सक्थें । जनताको सुख दुःखमा साथै रहन्छु, यहाँका युवामाझ रहेर काम गर्छु भनेर आएको हुँ ।‘

मंसिर ४ गतेको निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि लोकतान्त्रिक वाम गठबन्धनकी उम्मेदवार रहेकी उनलाई कांग्रेससँगै नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा लगायतका दलको साथ छ ।

जित सुनिश्चित भए पनि मतान्तर बढाउनका लागि विभिन्न अभियानमा लागिपरेको उनको भनाइ छ । उनले सबै क्षेत्रलाई समेटेर आफ्नो संकल्पसमेत सार्वजनिक गरिसकेकी छिन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ