arrow

एमाले उम्मेदवारविरुद्ध साम्प्रदायिकता भड्काउन खोजेको भन्दै आयोगमा उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
jalim-miya-mansuri-karwahi-mag.jpg

वीरगन्ज । एमालेका उम्मेदवारविरुद्ध साम्प्रदायिकता भड्काउन खोजेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले जातीय र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै आयोगमा उजुरी परेको हो ।  

एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका मियाँले चुनावी सभाका क्रममा मधेसी पहाडीबीच साम्प्रदायिकता फैलाउने गरी अभिव्यक्ति दिएको भन्दै त्यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका रमेश रिजालले उजुरी दिएका हुन् । 

रिजालले मियाँलाई कारबाहीको माग गर्दै निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय पर्सा  र पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा इमेलमार्फत उजुरी पठाएका हुन् । 

रिजालले दिएको उजुरीमा ‘पर्सा क्षेत्र नम्बर ४ मा पर्ने धोबिनी गाँउपालिका वडा नम्बर ५ जगरनाथपुर टोलमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले उम्मेदवार मियाँले निर्वाचनलाई प्रभावित पार्न पहाडी समुदायलाई गाली गलौज गर्दै निर्वाचन आचारसंहिता र कानूनको धज्जी उडाउनुका साथै मधेसी–पहाडी समुदायबीच द्वन्द्व भड्काउने काम गरेकाले मियाँ विरुद्ध आवश्यक कारबाहीको माग गर्दछु ।’

निर्वाचन आचार संहिता २०७९ को दफा १३ को १ (ब) मा कुनै साम्प्रदायिक विद्वेष फैलाउनेगरी प्रचारप्रसार गर्न वा मत माग्न नुहुने व्यवस्था गरेको छ । 

कांग्रेस उम्मेदवार रिजालले मियाँविरुद्ध सामाजिक सदभाव भड्काउने गरी दिएको अभिव्यक्ति सहितको भिडियो र लिखित निवेदन सम्बन्धित निकायमा पठाएका हुन् । 

निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा २२ को १ (ग) मा कुनै धर्म जातजाति वर्ग, क्षेत्र वा सम्प्रदाय बीचको सम्बन्धमा खलल पुर्‍याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रियताका आधारमा घृणा वा विद्वेष उत्पन्न गर्न नहुने व्यवस्था छ । 

उक्त दफाको (२) मा यस्तो कसुर गर्नेलाई २ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।

मतदानको मुखैमा  मियाँले भड्किलो भाषण दिएका हुन् । 

https://www.youtube.com/watch?v=9DnQaSwAS9U



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ