arrow

राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धनलाई भोट दिन मोहन आचार्यको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
mohan-acharya-mp-congress.jpg
तस्बिर – फाइल ।

रसुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्जिनियर मोहन आचार्यले राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । 

रसुवामा आयोजित चुनावी सभामा उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि अब कुरा गर्ने मात्र नभएर काम गर्नका लागि यो गठबन्धन बनेको भन्दै अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिलाई अझ तीव्रता दिइने बताए । 

रसुवाको विकासका लागि मंसिर ४ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठवन्धनका उम्मेद्वारहरूलाई जिताउनुको विकल्प नरहेको भन्दै उनले रसुवाको विकास र समृद्धिका लागि नै आफू राजनितिमा आएको बताए । 

विगतमा एमाले सरकारले आफूले अगाडि बढाएका सबै आयोजनाहरूलाई राजनीतिक ढंगबाट मात्र हेरेर रोक्ने प्रयास गरेको प्रसंग उल्लेख गर्दै उनले अहिले कांग्रेस नेतृत्वको सरकार बनेपछि सबै आयोजनाले गति लिन थालेको जानकारी दिए । 

विकासका काममा बढी राजनीति गर्ने परिपाटीले विकासमा रसुवा पछाडि परेको भन्दै आफ्नो एक मात्र उदेश्य रसुवाको सवृद्धि र रसुवालीको समुन्नति रहेको बताए ।

कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उनले उल्लेख गरे । 

अहिले नौकुण्ड वृहत खानेपानी योजना निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले यसका लागि बजेटको सुनिश्चितता गरी अहिले ईआईएको प्रक्रिया अघि बढेको बताए । 

त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण शुरु भएको र कालिकास्थान–जिवजिवे सडक अन्तर्गत धोवीखोला पुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामा पक्की पुल निर्माणको काम अघि बढेको उनले बताए । 

बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठूलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै उनले भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलका लागि सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन भएको बताए । त्यसैगरी सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गका लागिसमेत पहल भैरहेको उनले बताए । 

भौगोलिक रुपमा पिछडिएको बस्ती तिरुगाउँ सडक सञ्जालमा जोड्न सफल भएको र तिरुमा एकिकृत बस्ती निर्माण गरिएको आचार्यले बताए । रसुवाको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको उनले बताए । 

रसुवाली जनताको जीवनस्तरमा सुधार ल्याउनु आफ्नो मूल उद्देश्य रहेकोसमेत उनले बताए । निर्वाचन पछि बन्ने सरकारले रसुवामा अधुरा रहेका सबै विकास आयोजनाहरूलाई पूर्णता दिनेसमेत उनले प्रतिबद्धता जनाए । 

पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन बनेको बताउँदै उनले देशमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रणका लागि पाँच दलीय गठबन्धन अपरिहार्य रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ