arrow

सातौंपटक एउटै क्षेत्रबाट लडिरहेका राजेन्द्र पाण्डे ढुक्क देखिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
rajendra-pandey-bhumi-tripathi-dhaging.jpg

धादिङ । अहिलेको निर्वाचनमा धादिङमा एउटा रोमाञ्चक पक्ष छ । २०४३ को राष्ट्रिय पञ्चायतदेखि निर्वाचनमा सहभागी भएका राजेन्द्र पाण्डे अहिले पनि संघीय संसदको निर्वाचनमा सहभागी भएका छन् । 

२०४६ सालको जनआन्दोलनपछि २०४८ मा भएको आम निर्वाचनमा धादिङबाट एमालेका पाण्डेले निर्वाचन जितेका थिए । त्यतिबेला उनी ३५ वर्षका भए पनि अहिले ६६ वर्षसम्म पनि उनी चुनाव लडिरहेका छन् । 

त्यसयता पाण्डेले २०६४ को संविधान सभा निर्वाचन बाहेक सबै निर्वाचन जित्दै आएका छन् । साविक ३ नम्बर क्षेत्र रहेको यस निर्वाचन क्षेत्र २०७३ मा राज्य पुनःसंरचनापछि १ नम्बर क्षेत्र भएको हो । 

गत वर्ष एमाले विभाजन भएपछि पाण्डे नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भएका पाण्डे यसपटक नेपाली कांग्रेस र माओवादी केन्द्रको बलमा चुनाव जित्ने प्रयासमा छन् । 

पाण्डे सत्ता गठबन्धनको सहयोगमा धादिङ–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भए पनि उनको प्रतिस्पर्धा भने आफ्नै पूर्वसहकर्मी तथा एमालेका निवर्तमान सांसद भूमि त्रिपाठीसँग हुनेछ । 

एउटै पार्टीमा लामो समय सहकार्य गरेका यी दुई प्रभावशाली नेताको प्रतिस्पर्धाले धादिङको चुनावी राजनीति रोचक बनाएको छ । 

यो क्षेत्रबाट पाण्डे सातौंपटक चुनावी मैदानमा उत्रिएका हुन् । त्रिपाठीको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो । यसपटक आफ्नै पूर्वनेतासँग मैदानमा उत्रिएका त्रिपाठीलाई एमालेको विरासत जोगाउनु पर्ने बाध्यता छ भने गठबन्धनसहितको मत लिएर  विगतको परिणामलाई जोगाउने चुनौती पाण्डेसँग रहेको छ ।  

२०७४ को निर्वाचनमा एमालेका जिल्ला अध्यक्षसमेत रहेका त्रिपाठी सबैभन्दा फराकिलो अन्तरले विजयी भएका थिए । तीन दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय त्रिपाठीले नेपाली कांग्रेसका विश्वप्रसाद अर्याललाई २७ हजार १५३ मत अन्तरले पराजित गरेका थिए । 

त्यतिबेला वाम गठबन्धनबाट उम्मेदवार रहेका त्रिपाठी ४९ हजार १२१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९६८ मत प्राप्त गरे । 

अघिल्लो निर्वाचनमा पाण्डे धादिङ–१ को प्रतिनिधि सभा अन्तर्गत प्रदेश–१ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए । 

उनी हाल बागमती प्रदेशको मूख्यमन्त्रीसमेत रहेका बेला संघीय संसदको निर्वाचन लडिरहेका छन् । देशभर नै एमालेका विरुद्ध गठबन्धन भएका कारण यसपटक पाण्डेलाई जित निकाल्न सहज हुने अनुमान गरिएको छ । 

स्थानीय तह निर्वाचन परिणाम हेर्दा एक नगरपालिका र ५ गाउँपालिका रहेको यो क्षेत्रमा एमालेले थाँक्रे र गल्छी गाउँपालिकामा अध्यक्षमात्र जितेको छ । धुनिबेंसी नगरपालिकाको प्रमुख एकीकृत समाजवादीले जित्दा गजुरी र बेनिघाट रोराङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो । उता सिद्धलेक गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी भएको थियो ।

५३ वडामध्ये थाँक्रेमा ५ र गल्छीमा ३, बोनिघाट रोराङमा २ र सिद्धलेकमा ३ गरी १३ वटा वडामा एमाले विजयी भएको छ । धुनिबेंसीसहित अन्य पालिकामा वडाध्यक्षविहीन बन्यो । 

१३ मध्ये उपप्रमुख र उपाध्यक्षमा एक सिट पनि जित्न सकेन । वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा धादिङ १ मा एमाले ३७ हजार ७७८ मतसहित पहिलो दल रहेको छ । 

बहुसंख्यक वडामा पराजित हुँदासमेत एमालेले लोकप्रिय मत पाएको देखिन्छ । दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले २४ हजार ९२५ मत पाएको छ । कांग्रेसको १९ हजार ४२३, नेकपा एसको ८ हजार ८३६ र राप्रपाको १ हजार २२२ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत ५३ हजार १८४ रहेको छ । 

यो क्षेत्रमा गठबन्धनभन्दा एमाले १५ हजार ४०६ मतले पछाडि रहेको छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा पाण्डेले निर्वाचन जित्ने सम्भावना बलियो देखिन्छ । 

पूर्वस्थानीय विकास मन्त्रीसमेत रहेका पाण्डे नेकपा एसका उपाध्यक्ष हुन् । उनी २०४८ सालदेखि धादिङ जिल्लाबाट निरन्तर चुनावमा सहभागी हुँदै आएका छन् । पाण्डेले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा चुनावमा भाग लिएका छन् । 

३१ वर्षदेखि एउटै क्षेत्रबाट चुनाव लड्दै आइरहेका उनले २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनबाहेक सबै चुनाव जितेका छन् । 

एमाले पार्टी विभाजन गर्न मुख्य भूमिका निर्वाह गरी बागमती प्रदेशको मुख्यमन्त्री बनेका पाण्डे एमाले धादिङका संस्थापक नेता हुन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखुमा जन्मेका त्रिपाठीले गजुरीको तत्कालीन आदर्श माध्यमिक विद्यालयमा २०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा शुरु गरेका थिए । 

काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियुमै सक्रिय रहे । त्रिपाठी नेपाल ल क्याम्पसको स्ववियु सचिवसमेत बनेपछि २०५४ मा पार्टी विभाजन भएपछि त्रिपाठी धादिङमै बसेर सक्रिय राजनीतिमा होमिएका थिए । 

२०५४ सालमा एमालेको सदस्य भएका त्रिपाठी २०६० सालमा एमाले धादिङको सचिव र त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष बनेका हुन् । 

यी दुवै नेता धादिङमा लोकप्रिय भए पनि जित निकाल्ने विषयमा भने यतिबेला गठबन्धन भएकै कारण पाण्डेलाई सहज हुने अनुमान गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ