arrow

स्वतन्त्ररुपमा मतदानमा सहभागी हुन मुख्यमन्त्री पोखरेलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
Krishna chandra nepali.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्दै कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनोटका लागि मतदानमा सङ्लग्न हुन प्रदेशवासीमा अपिल गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७९ का सन्दर्भमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवाभावले ओतप्रोत उम्मेदवारलाई छनोट गर्न सकेमा आगामी पाँच वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । “हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्ण ढङ्गबाट उपयोग गर्नुहुनेछ भन्नेमा आश्वस्त छु”, उनले भने ।

लामो र कठोर बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि रक्षा गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक उन्नयनको मार्गमा लैजान सक्ने प्रतिनिधि छनोट गर्नु आवधिक निर्वाचनको मूल ध्येय रहेको अपिलमा भनिएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तवरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चारमाध्यम रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तरराष्ट्रिय सङ्घ संस्था एवं सरोकारवाला सबै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन जुट्नुुहुने विश्वास व्यक्त गरेका छन् । 

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष रहेको उल्लेख गर्दै उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, “संविधानसभामार्फत् २०७२ मा जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थापित तीन तहका सरकारमध्ये प्रदेश संरचनाको पहिलो एक कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ अहिले हामी दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेका छौँ ।”

प्रतिनिधिसभाको पनि निर्वाचन एकसाथ सम्पन्न हुन गइरहेको सन्दर्भमा उनले उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरे । प्रदेश संरचना हाम्रा लागि नितान्त नौलो अभ्यास रहेको भन्दै मुख्यमन्त्रीले भौतिक संरचना, जनशक्ति व्यवस्थापनदेखि कानुनी अस्पष्टतालगायत समस्या झेल्दै पाँच वर्षको अवधिमा प्रदेश संरचनाले सशक्तरुपमा आफ्नो पहिचान स्थापित गराएको उल्लेख गरेका छन् ।

एक सरकारको रुपमा सञ्चालित हुन आवश्यक सम्पूर्ण तयारी यसले पूरा गरेको दाबी गर्दै उनले आर्थिक तथा सामाजिक उन्नयनका लागि महत्वपूर्णकार्य आरम्भ भए पनि नागरिकका चाहना र आकांक्षा पूरा हुन नसकेको स्वीकार गरे । 

विगतबाट पाठ सिकेर सङ्घीय शासन प्रणालीलाई व्यवस्थित गर्नका लागि अबको समय खचिर्नुपर्ने उल्लेख गर्दै उनले अधिकतम प्रदेशबासीको संलग्नतामा यो निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ