arrow

गगनको क्षेत्रमा पैसा बाँडेर प्रदीपको क्षेत्रमा पुगेका एमाले नेताहरु प्रहरीको नियन्त्रणमा [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
rajan-bhattarai-ishwor-pokharel-uml.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका गठबन्धनका संयुक्त उम्मेदवार एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं क्षेत्र नम्बर ५ गठबन्धनका संयुक्त उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको क्षेत्रमा पैसा बाँडेर भोट किन्ने एमालेका नेताहरु पक्राउ परेका छन् । 

शुक्रबार बेलुकी गगनको क्षेत्रमा पैसा बाँडेर प्रदीपको क्षेत्रमा पैसा बाँड्दै गर्दा प्रहरीले एमालेका उम्मेदवारसहित तीन जनालाई पक्राउ गरेको हो । काठमाडौं ४ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा डा. राजन भट्टराई उम्मेदवार रहेका छन् भन् भने काठमाडौं ५ मा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार रहेका छन् । 

गगनको क्षेत्र रहेको कपनमा एमालेका नेताहरुले पैसा बाँड्दै गरेको भन्ने खबर पाएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले खोजी गरिरहेका थिए । तर उनीहरुले गगनको क्षेत्रमा पैसा बाँडेर प्रदीपको क्षेत्रमा पुगेको थाहा पाएपछि पछ्याउँदै जाँदा बुढानीलकण्ठ नगरपालिका ६ की कर्मचारी बुद्धलक्ष्मी तामाङको घरमा देखेका थिए । 

कांग्रेस महाधिवेशन प्रतिनिधि राजेन्द्र महर्जनका अनुसार कांग्रेस कार्यकर्ताहरुले उक्त घरमा घेरा हालेर प्रहरीलाई खबर गरेका थिए । 

साथै उनीहरुले प्रमाणका लागि भिडियोसमेत खिचेका थिए । तर पैसा दिएको भिडियो क्यामेरा भने उनीहरुले फुटाइदिएको र अन्य प्रमाण भने रहेको उनले बताए । 

काठमाडौंमा गगन थापा र प्रदीप पौडेलले जित्ने निश्चित जस्तै भएपछि ईश्वर पोखरेल र राजन भट्टराईले मौन अवधिमा पैसा बाँडेर भए पनि भोट किन्न नेताहरु खटाएका थिए । 

काठमाडौं ५ को प्रदेश सभा ख का एमाले उम्मेदवार दीपक निरौलासमेत प्रहरीको नियन्त्रणमा परेका छन् । त्यस्तै बुढानीलकण्ठ नगरपालिका ६ का एमालेबाट जितेका वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोललाई पनि प्रहरीले पैसा बाँड्दै गर्दा पक्राउ गरेको हो । 

प्रहरीलेसमेत पैसा बाँडेको सुराकी पाएपछि साँझदेखि नै पिछा गरिरहेको थियो । यसअघि काठमाडौं क्षेत्र नं ४ मा पर्ने वडा नं ११ को जगडोल, वडा नं १० को पाथीभरा बस्तीलगायतमा जनप्रतिनिधिले पैसा बाँडेको भनेर सूचना आएको थियो ।

उनीहरुलाई प्रहरीले पक्राउ गरी शुरुआतमा नारायणस्थान प्रहरी चौकीमा राखेकोमा त्यसपछि भने राति पौने १० बजेतिर महाराजगञ्ज प्रहरी वृत्तमा ल्याएको छ । 

तीनै जनालाई वृत्तमा राखिएको छ । वृत्त बाहिर भने ठूलो संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरु भेला भएर नाराबाजी गरेका छन् । उनीहरुले दोषीलाई कारबाही गरिनु पर्ने माग गरिरहेका छन् । 

कांग्रेस कार्यकर्ताहरु बढ्दै गएपछि थप सुरक्षाकर्मी बोलाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । 

कांग्रेस नेता राजेन्द्र महर्जनका अनुसार निर्वाचन अधिकृतलाईसमेत खबर गरिसकिएको छ । 

प्रहरीले उम्मेदवार निरौलाको गाडीसमेत नियन्त्रणमा लिएर महाराजगञ्ज वृत्तमा राखेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ