arrow

कास्की क्षेत्र नं ३ मा ११ बजेदेखि मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-final1.jpg

कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणनाको तयारी गरिएको छ । 

यसका लागि सर्वदलीय बैठक आह्वान गरिएको र बैठकपछि ११ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजाराम पौडेलले जानकारी दिए । 

उनका अनुसार सो क्षेत्रको सबै एक सय १९ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएर मुख्य निर्वाचन अधिकृतको जिल्ला समन्वय समितिको कार्यालयमा संकलन गरिएको छ । 

प्रतिनिधिसभामा सो क्षेत्रमा कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार छ सय १४ मत खसेको छ । कास्की ३ मा प्रतिनिधिसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा प्रतिनिधिसभामा रामजीप्रसाद बराल पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् । 

यसैगरी नेकपा (एमाले)बाट दामोदर पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीलगायत उम्मेदवार छन् । 

यसैगरी प्रदेशसभा ३ (१) मा पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारी, नेकपा (एमाले)बाट गणेशमान गुरुङ तथा ३ (२)मा नेपाली कांग्रेसका प्रकाश बराल, नेकपा (एमाले)का राजीव पहारीलगायतका उम्मेदवार चुनावी मैदानमा रहेका छन्। 

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं २ को गणना सुरु भएको छ भने क्षेत्र नं १ को गणनाका लागि तयारी गरिएको छ । जिल्लामा ६० प्रतिशत हाराहारीमा मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

कास्की जिल्लामा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार ५२२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ