arrow

असारमा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी चम्कियो, कहाँ–कहाँ जित्यो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
rastriya-swatantra-party-2079-07-17.jpg
तस्बिर – फाइल ।

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

मुलकभर मतगणना जारी रहँदा स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो । काठमाडौं–२ मा उपाध्यक्ष सोबिता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

गौतम १५ हजार २२९ मतसहित विजयी भएकी हुन् । उनले एमालेका मणिराम फुयाललाई हराइन् । फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याउँदा पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्तीमगर ९ हजार ४४९ मतसहित चौथो स्थानमा रहिन् ।

काठमाडौं ७ मा पनि एमाले नै निकटतम प्रतिस्पर्धी बनेको छ । पराजुली ८ हजार ७४३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत मात्र पाए  । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मतमा चित्त बुझाइन् ।

काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाए ।

पाँच क्षेत्रमा लिड गर्दै स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी मतगणना जारी भएका पाँच निर्वाचन क्षेत्रमा लिड गरिरहेको हो । सुनसरी २ मा लालविक्रम थापा, काठमाडौं ६ मा शिशिर खनाल, चिवतन १ मा हरि ढकाल र २ मा रवि लामिछाने तथा ललितपुर ३ मा तोसिमा कार्कीले लिड गरिरहेका हुन् । 

७ असार ०७९ मा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी मुलुककै कान्छो दल हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ