arrow

माधव नेपाल छैटौं पटक संसद्‌मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
madhav-nepals.JPG

काठमाडौं । संसद्कै ठूलो कम्युनिष्ट पार्टी नेकपा(एमाले)बाट विद्रोह गरी गठन भएको नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौं पटक सङ्घीय संसद्‌मा प्रवेश गरेका छन् । 

उनी रौतहट क्षेत्र नं १ बाट ३३ हजार पाँच सय २२ मत ल्याई निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतले पराजित गर्दै विजयी भएका छन् । 

नेपाली कांग्रेसले नेतृत्व गरेको वर्तमान लोकतान्त्रिक वाम गठबन्धनबाट सरकारको एक घटक एकीकृत समाजवादीका नेता नेपाल सोही गठबन्धनका सहयोगमा प्रतिनिधिसभामा पुग्न सफल भएका छन् । 
 
यसअघि विसं २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहनुभएका नेपाल विसं २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य थिए । उनले विसं २०५० सालदेखि २०६५ वैशाखसम्म नेकपा (एमाले) महासचिवको जिम्मेवारी सम्हालेका थिए । 

विसं २०६६ जेठदेखि २०६७ माघसम्म प्रधानमन्त्री भएका अध्यक्ष नेपाल त्यसअघि एमालेका अध्यक्ष मनमोहन अधिकारीका नेतृत्वमा रहेको मन्त्रिमण्डलमा विसं २०५१ मङ्सिरदेखि २०५२ भदौसम्म परराष्ट्र र रक्षामन्त्रालयको कार्यभारसहित उपप्रधानमन्त्री थिए । 

विसं २०२२ देखि वामपन्थी विद्यार्थी सङ्गठनबाट राजनीतिमा संलग्न भएका उनी विसं २०२६ मा नेकपा(पुष्पलाल समूह)मा आवद्ध भए ।

उनसँग नेकपा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि छ । ‘नेपाल अधिराज्यको संविधान २०४७’ संविधान सुझाव आयोगका सदस्य तथा संविधानसभा, संवैधानिक समितिका सभापति भएर उनले काम गर्नुभयो । 

पिता मङ्गलकुमार र माता दुर्गादेवी उपाध्यायका कोखबाट विसं २००९ फागुन २३ गते रौतहटमा जन्म भई राजनीतिक आन्दोलनका क्रममा १६ वर्ष भूमिगत तथा पटक–पटक गरी दुई वर्ष ६ महिना बन्दी जीवन बिताएका नेता नेपाल शाही शासनकालमा घरमै नजरबन्द भएका थिए । 

निष्ठावान् राजनीतिज्ञका रूपमा आफूलाई परिचित गराउन चाहने अध्यक्ष नेपालले मुलुकको शान्तिप्रक्रियामा ठूलो भूमिका खेलेका छन् । उनको ‘जनताको बहुदलीय जनवाद’ र ‘जनता जाग्दैछन्’, शीर्षक कृति प्रकाशन हुनाका साथै उनसँग सम्बन्धित ‘संसद्‌मा माधव नेपाल’, ‘प्रधानमन्त्री माधव नेपाल’का मन्तव्यलगायत कृति पनि सार्वजनिक भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ