arrow

मधेसमा उपेन्द्र यादव ‘रिजेक्टेड’ हुनुका पाँच कारण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा प्रतिष्पर्धी उम्मेदवारभन्दा १० हजार मतको फरकले सप्तरी २ बाट चुनाव जितेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यसपटक भने १८ हजार ६३ मतको फरकले चुनाव हारेका छन् । 

२०७४ मा उपेन्द्रका प्रतिष्पर्धी माओवादीका उम्मेदवार उमेश यादवले ११ हजार ५सय ८० भोट ल्याएका थिए । उपेन्द्र भने २१ हजार ६ सय २० मत ल्याएर विजयी भए ।

त्यतिबेला उमेशलाई एमालेले समर्थन गरेको थियो । यसपटक सप्तरी २ मा उपेन्द्रले १६ हजार ९ सय ६९ मात्र भोट ल्याए । तर त्यस क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउतले ३५ हजार ४२ भोट ल्याई विजयी भए । यतिबेला एमालेले उपेन्द्रलाई समर्थन गरेको थियो । तैपनि उपेन्द्रले चुनाव हारे ।  

यसबाट पुष्टि हुन्छ कि यो पटक उपेन्द्र मधेसमा ‘रिजेक्टेड’ भएका छन् । जबकि उनले यसपटक पनि पुरानै क्षेत्र रोजेका थिए । अघिल्लो पटक १० हजार भोटको फरकले चुनाव जितेका यादव यसपटक पनि सप्तरी २ लाई सहज ठानेका थिए । तर परिस्थिति उनले आँकलन गरे जस्तो भएन । सप्तरी २ बासीले उनलाई हराए । 

उपेन्द्र अस्वीकृत हुनुका प्रमुख कारण उनले लिएको नीति नै हो । उनलाई आफूलाई कहिले भारत विरोधी, कहिले चिनियाँ पक्षधर बनाए । 

कहिले आफूलाई भारतसँग नजिक जस्तो देखाए । स्थानीय तहको चुनावमा उनी चिनियाँ पक्षधरको रुपमा देखिएका थिए । यादवलाई चीनसँग कनेक्सन गराउने काम जनकपुरकै डा. राजीव झाले गरेका हुन् । 

डा.झा चीनमा पढेका प्रोफेसर हुन् । डा. झामार्फत मधेसमा विभिन्न नाममा चिनियाँ कार्यक्रम लगिएका छन् । २०७५ सालमा तत्कालीन मधेसी जनअधिकार फोरमको २१ जनाको एउटा ठूलो टोली चीन भ्रमणमा गएको थियो । 

जसमा ७ जना फोरमका सांसदमात्र थिए । त्यो भ्रमणमा यादवसँग नजिक देखिएकाहरुले मात्र अवसर पाएका थिए । यसपटक उपेन्द्र मधेसबाट रिजेक्ट हुनुले एउटा सन्देश दिएको छ । त्यो भने मधेसमा यादवले लिएको नीति मधेसी जनताले मन पराएनन् । 

‘खासगरी मधेसमा चिनियाँ पक्षको चासो र चिनियाँ पक्षको कनेक्सनलाई रिजेक्ट गरेका सन्देश यो चुनावले देखाउँछ’, एक विश्लेषकले भने । 

यादव पराजित हुनुको अर्को कारण हो उनले लिएको  ढुलमुले नीति । उनी कहिले एमालेसँग नजिक भए, कहिले नेपाली कांग्रेससँग नजिक भए । ओली सरकारमा पनि गए । नेपाली कांग्रेस नेतृत्वको सरकारमा पनि गए । 

यादव कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीका कटट्र आलोचक भए । अहिले ओलीसँग टाँसिए । २०७६ सालमा ओली सरकारबाट बर्हिगमन भएपछि यादवले ओलीलाई संघीयता र गणतन्त्र विरोधी भन्दै अब ओलीसँग कहिल्यै सहकार्य हुन नसक्ने बताएका थिए । तर चुनावको अन्तिम समयमा ओलीसँग सहकार्य गरे । ओलीसँगको सहकार्यले उनलाई धोका भएको छ ।

यादव पराजित हुनुको तेश्रो कारण हो उनी अन्य मधेसवादी दल तथा मधेसी नेताहरूबाट एक्लिए । उनकैकारण मधेस केन्द्रित दल पटक पटक फुटेको थियो । एक वर्षमा जसपा २ पटक फुट्यो । एउटा राष्ट्रिय पार्टी एक वर्षमा २ पटक फुटेको सम्भवतः जसपा मात्र हुनु पर्छ । 

२०७८ सालमा जसपा दुई पटक फुट्यो । २०७८ भदौमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका नेताहरु जसपाबाट अलग भइ लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए भने २०७८ को अन्त्यतिर डा.बाबुराम भट्टराई लगायतका नेताहरु जसपाबाट अलग भइ समाजवादी पार्टी गठन गरेका थिए । 

२०६४ सालयता यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जन अधिकार फोरम अहिलेसम्म १२ पटक भन्दा बढी फुटिसकेको छ यसबाट पुष्टि हुन्छ नेतृत्व लिने क्षमता उनीसँग छैन । 

६ वर्ष अगाडि सप्तरीको मलेठ घटनालाई बिर्सेर यादवले एमालेसँग सहकार्य गरेका थिए । तर, सप्तरी २ को मलेठ घटनालाई जनताले बिर्सेनन् । मतदाताले पनि त्यसरी नै लिए । मतदाताले यादवले गरेको गम्भीर भुलका रुपमा नै लिए । 

६ वर्षअघि तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चा र एमालेबीच सोझो भिडन्त भएको थियो । जसमा ५ जना मधेसी मोर्चाका कार्यकर्ताको निधन भएको थियो भने ११ जना गम्भीर घाइते भएका थिए । 

तत्कालीन मधेसी मोर्चामा यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरम पनि सहभागी थियो । त्यतिबेला एमालेको सबैभन्दा आलोचक यादव नै थिए । जहाँ मलेठ घटना भएको थियो त्यही क्षेत्र हो जहाँ यादवले यसपटक उम्मेदवारी दिएका थिए ।
 
एमालेसँगको सहकार्यले उपेन्द्रलाई यसपटक ठूलो धोका दिएको छ । एमाले नागरिकता विधेयक विरोधी पार्टीको रुपमा मधेसमा चिनिएको छ । त्यही पार्टीसँग उपेन्द्रले सहकार्य गरे । यसको फाइदा जनमत पार्टीले लियो ।  

सप्तरीमा जनमत पाटीका कार्यकर्ताहरुले मधेसको लागि एमाले र जसपा उस्तै उस्तै हुने भन्ने सन्देश पुर्याए । एमालेसँगको सहकार्यले यस भनाइलाई मलजल पुर्यायो पनि । 

यादवले यादववादको रणनीतिबाट चुनाव जित्ने चलाखी खेले । यो रणनीतिलाई सप्तरीबासीले मन पराएनन् । यादवले शुरुदेखि नै पार्टीभित्र यादववाद नीति अपनाएका थिए । यादव बाहेक अन्य समुदायलाई उपेन्द्रले सकेसम्म अवसर दिएनन् । 

बाहिर समावेशी र समानुपातिकको नारा दिए पनि व्यवहारमा उनी त्यसको ठीक उल्टो भए । यही कारण उनी यसपटक मधेसमा अस्वीकृत भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ