arrow

लोसपा अध्यक्ष ठाकुरको संसदीय यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
election-mahottari-3-losapa-jasapa-thakur.jpg

काठमाडौँ। तराई–मधेसलाई केन्द्रमा राखेर राजनीति गरिरहेका सम्भावना बोकेका शीर्ष नेताहरू मध्येका महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसमेत रहेका ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेना अनुसार लोसपाका अध्यक्ष ठाकुरले १६ हजार तीन सय ७५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले १४ हजार तीन सय २५ मत प्राप्त गरेका छन्।

महोत्तरी पिपरा गाउँपालिका एकरहियामा विसं १९९९ जेठ १३ गते जन्मिएका ठाकुर संसदीय राजनीतिको अनुभवी राजनीतिज्ञका रूपमा परिचित छन्। अघिल्लो पटकको प्रतिनिधिसभामा ज्येष्ठ सदस्य समेत रहेका उनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन्।

विसं २०१६ मा नेपाली काँग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय ठाकुर तीन दशकभन्दा लामो समयसम्म नेपाली काँग्रेसकै राजनीतिमा सक्रिय हुँदै केन्द्रीय कार्यसमितिसम्म पुगे। तराई मधेस आन्दोलनपछि काँग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीको स्थापना गरे। विसं २०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन गरेका उनले हाल लोसपाको अध्यक्ष छन्।

विसं २०४८ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका ठाकुर मध्यावधि निर्वाचनमा सर्लाहीबाट निर्वाचित भएका थिए। विसं २०६४ संविधानसभा सदस्य मनोनीत सदस्य भई ठाकुरले संविधान निर्माणमा भूमिका निर्वाह गरेका थिए। सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचनमा २०७४ मा महोत्तरी ३ बाट निर्वाचित भएका थिए। उनले संसद्को अर्थ समितिको सदस्य भएर काम गरेका थिए।

प्रतिनिधिसभा उपसभामुखको विशेष जिम्मेवारी बहन गर्नुभएका ठाकुर अन्तरिम सरकार २०६३ मा वातावरण तथा विज्ञान प्रविधि मन्त्री बनेका थिए। राजनीतिअघि शिक्षण र वकालत पेसामा आबद्ध ठाकुर तराईका पुराना त्यागी र सादगी नेताका रूपमा परिचित छन्।

राजनीतिक आन्दोलनका क्रममा प्रहरी हिरासत, बन्दी तथा जेल जीवन निर्वासनका क्रममा पनि जेल जीवन बिताएका थिए। आफूलाई निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरका रूपमा परिचित गराउन चाहने सांसद ठाकुर विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ