- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पद मध्ये एक-एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई-दुई पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरे । निर्वाचित माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मत अन्तरले विजयी भएका हुन् ।
उक्त निर्वाचन क्षेत्रको प्रदेश-१ मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ १६ हजार एक सय ६९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सुशीलकुमार खड्काको ११ हजार तीन सय ५० मत आएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश-२ तर्फ कांग्रेसका उम्मेदवार रमेशकुमार महत १३ हजार सात सय २७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठको ११ हजार आठ सय ३१ मत प्राप्त भएको छ ।
नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी भन्दा केसीको ११ हजार छ सय २० मत बढी छ । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत र तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत प्राप्त गरे ।
उक्त निर्वाचन क्षेत्रको प्रदेश-१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गाना १२ हजार एक सय १० मत ल्याएर विजयी भए । ढुङ्गानाका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशवराज पाण्डेको ११ हजार छ सय ६२ मत प्राप्त भएको छ ।
नुवाकोट-२ को प्रदेश-२ मा १७ हजार दुई सय ४९ मत ल्याएर कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजयसिंह लामा (तामाङ)ले नौ हजार एक सय २४ मत प्राप्त गरे । नुवाकोटमा रहेको कूल दुई लाख ३९ हजार सात सय २६ जना मतदातामध्ये क्षेत्र नं १ मा ६३ हजार पाँच सय ८४ र क्षेत्र नं २ मा ६७ हजार चार जना मतदाताले सहभागिता जनाएका थिए ।