arrow

प्रचण्ड र देउवाबीच छलफल, सरकारको नेतृत्व लिने कसरतमा प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
deuba-prachanda-final-433.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन सकिएको पहिलो शनिबार बिहान नेकपा माओवादी केन्द्रको हाइकमाण्डको बैठक बस्यो । बैठकमा अहिलेको निर्वाचनबारे छलफल भएको थियो । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको हाइकमाण्डको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेल, कृष्णबहादुर महरा लगायतका नेताहरु उपस्थित थिए । 

उनीहरुले अहिलेको परिणाम र सरकार गठनको विषयमा छलफल गरेका थिए । ‘उहाँहरुबीच आगामी सरकार गठन र परिणामबारे छलफल गरेको र अहिले परिणाम सोचेजस्तो नभएको विषयमा पनि कुराकानी गरेका छन्’, प्रचण्डको सचिवालयका एक सदस्यले बताए । 

उनका अनुसार सरकार गठनको विषयमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवासँग छलफल गर्ने भन्दै प्रचण्ड शनिबार बिहानै ११ बजेतिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । 

‘उहाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट र कुराकानी गर्न बिहान साढे ११ बजे त्यहाँ जानु भएको हो’, प्रचण्ड निवासमा रहेका एक नेताले भने ।  

गत आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम आएपछि उनीहरुबीच आज पहिलो पटक भेटवार्ता भएको हो । बिहान साढे १० बजेदेखि झण्डै ११ बजेसम्म भएको भेटलाई आगामी सरकार गठनसँग जोडेर हेरिएको भए पनि उनीहरुबीच भएको कुराकानीबारे केही बाहिर आएको छैन । 

माओवादी अध्यक्ष प्रचण्डले आगामी सरकारमा आफ्नो नाममा सहमति जुटाउने कोसिस गर्ने माओवादीका एक नेताको दाबी छ । 

‘सरकार गठनको विषयमा कांग्रेससँग कुराकानी हुन्छ तर कसको नेतृत्वमा बन्ने भन्ने कुरा केही भएको छैन, यो गठबन्धनलाई टिकाउने हो भने माओवादीलाई नेतृत्व गर्न दिनुपर्छ’, माओवादीका ती नेताको दाबी छ । 

अहिले पनि राष्ट्रपति, उपराष्ट्रपति, सरकारको नेतृत्व, भावी सभामुखको नेतृत्व, उपसभामुख लगायतका पदीय संरचनाको विषयमा पनि छलफल गर्नुपर्ने भएकाले अहिलेबाटै कांग्रेस र माओवादीको बीचमा गहन ढंगले छलफल हुन जरुरी रहेको पनि ती नेताको दाबी छ ।

कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताहरुले सोचे जस्तो परिणाम नआउने देखेपछि सरकार गठनका लागि वाम एकता वा गठबन्धनको चर्चा गर्न थालेका छन् । 

‘आजको भेटमा अध्यक्ष कमरेडले सरकार गठन र सरकारको नेतृत्वको बारेमा सामान्य कुराकानी गर्नु भएको छ । सरकारको नेतृत्व माओवादीले गर्ने विषयमा छलफल हुनसक्छ’, माओवादीका एक नेताले भने । 

दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई शुभकामना दिने क्रममा वाम एकताभन्दा पनि सहकार्यमा जोड दिएका थिए । गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्डलाई गत बिहीबार टेलिफोनबाट बधाई दिने क्रममा एमाले अध्यक्ष ओलीले सरकार गठनमा सहकार्यको सम्भावनाबारे जिज्ञासा राखेका थिए । 

टेलिफोन कुराकानीमा प्रचण्डले ओलीलाई वाम एकताको पक्षमा उभिन आग्रह गरेका थिए । जवाफमा ओलीले सहकार्यको सम्भावना कस्तो छ भन्ने जिज्ञासा राखेका थिए । 

निर्वाचनको परिणाम घोषणा हुने क्रमसँगै माओवादी केन्द्रका नेताबीच वाम एकताको विषयमा अलि धेरै चर्चा हुन थालेपछि उनीहरुले कांगेससँग सरकारको नेतृत्वबारे छलफल गर्ने स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ