arrow

अझै १० सिटको टुङ्गो लाग्न बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
election-2079-final1.jpg

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । 

निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५५ वटा सिटको टुङ्गो लागेको छ भने अझै १० वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ । 

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकिकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात/सात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अझैसम्म पनि १० स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।

हालसम्म दोलखा-१, स्याङ्जा-२, सुनसरी-१, ३ र ४, बाजुरा, इलाम-१, उदयपुर-१ र रामेछापको नतिजा आउन सकेको छैन ।

दोलखा-१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन । 

सुनसरी-१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहेकी छन् भने उनलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहेका छन् ।

सुनसरी-३ मा एमालेकि भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहेका छन् । 

सुनसरी-४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा छन् ।

बाजुराको बूढीनन्दा नगरपालिका-५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम-१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा छन् भने नेकपा (एकिकृत समाजवादी)का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन् ।

उदयपुर-१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा छन् । 

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राखेका छन् भने उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ