arrow

आज दिउँसो सीतारामको स्वयम्बर राति प्रतिकात्मक विवाह, मधेसमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
janakpur-janakinagar-2079.jpg

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज मूख्य दिन । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज दिउँसो स्वयंम्बर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतिकात्मक विवाह हुनेछ । 

सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत भोलि रामकलेवा रहेको छ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरियातीहरूलाई राखेर प्रसादको रुपमा भोजन गराउने चलन रहेको र सोही दिन जन्तीलाई बिदाइ गर्ने चलन छ ।

मधेसमा सोमबार सार्वजनिक बिदा

सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताए । 

सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको सोमबार मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको हो । जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा तीन दिनका लागि बिदा दिइएको छ । 

सीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहरूको बासको तथा भीडलाई ध्यानमा राखेर विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो । खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू जनकपुरधाम आउने क्रम विगत दुई दिनदेखि जारी छ  ।

रेल सेवा विस्तार

तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि तीन पटक सञ्चालनमा ल्याइएको छ । सीताराम विवाह पञ्चमीको एक दिन अगाडि हिजोदेखि रामकलेवासम्म प्रत्येक दिन तीन पटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले बताए । 

कम्पनीले आइतबार, सोमबार र मङ्गलबार भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान साढे ८ बजे, दिउँसो साढे १२ बजे तथा साढे ३ बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ । 

जनकपुरधामबाट बिहान १०ः४५ बजे, १ः४० बजे र ५ः१५ बजे जयनगरका लागि छुट्ने प्रबन्ध सञ्चालक झाले बताउनुभयो । जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेका छन् । रेल सेवाले भारतबाट आउने तीर्थयात्रीहरूलाई जनकपुरधाम आउनका लागि निक्कै सहयोग मिलेको जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहले बताए । 

महोत्तरीको भिठामोड नाकाबाट भारतीय सवारीसाधनबाट आएका तीर्थयात्रीहरूका लागि पर्याप्त मात्रामा बस सेवाको व्यवस्था नहुँदा तीर्थयात्रीहरू कष्टपूर्ण यात्रा गर्न बाध्य भएको साहले बताए । विहार राज्यका मुझफरपुर निवासी मोहन यादवले गुनासो पोख्दै भने, “थोरै बस सेवा सञ्चालन भएकाले यात्रीहरूले पर्याप्त सेवा नपाएर दुःख भोग्नु परेको छ ।” 

कतिपय यात्रीहरू भिठ्ठामोडबाट जनकपुरधामका लागि पैदल नै हिँडेको देखिएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ निवासी रामानन्द साहले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ