arrow

यी हुन् प्रदेश सभाबाट प्रतिनिधि सभामा प्रवेश गर्ने र रोकिनेहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
election-commission-election-2079.jpg

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसपटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । विसं २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित पाण्डे यसपटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

गत निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को मुख्यमन्त्रीसमेत भइसकेका भीमप्रसाद आचार्य यसपटक सुनसरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । 
 
 विसं २०७४ निर्वाचनमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका महेन्द्रबहादुर शाही यसपटकको निर्वाचनमा कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएका थिए । 

गत निर्वाचनमा लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका पृथ्वी सुब्बा गुरुङ यसपटक भने प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए । 
  
विसं २०७४ को संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका विराजभक्त श्रेष्ठ यसपटकको निर्वाचनमा काठमाडौँ ८ बाट प्रतिनिधि सभामा विजयी भएका छन् । 

गत निर्वाचनमा विवेकशील साझा पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका श्रेष्ठ यसपटक स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । 
     
त्यसैगरी सल्यानको प्रदेश सभा सदस्यमा निर्वाचित भएका प्रकाश ज्वाला यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार भई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भई ज्वाला कर्णाली प्रदेशको मन्त्रीसमेत बनेका थिए । 

विसं २०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट कैलाली ५ (२) बाट निर्वाचित डिल्लीराज पन्त अहिले कैलालीको ५ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । 

विसं २०७४ को निर्वाचनमा सिन्धुलीबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका लेखनाथ दाहाल यसपटक सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

विसं २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक १ बाट प्रदेशसभामा निर्वाचित सरेश नेपालले यसपटक प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गराए पनि माओवादीका माधव सापकोटाबाट पराजित भए । नेपाल यसअघि बागमती प्रदेशको मन्त्रीसमेत भएका थिए । 

 विसं २०७४ को निर्वाचनमा भोजपुर निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को पहिलो मुख्यमन्त्री निर्वाचित भएका शेरधन राई यसपटक भोजपुरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका सुदन किराँतीबाट पराजित भए । 
 
 यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रदेश सभा सदस्य निर्वाचित मणिराम फुँयालले काठमाडौँ २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट टिकट पाएका थिए । उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमसँग पराजित भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ