arrow

किन ढिलासुस्ती गर्दैछ बाजुरा र स्याङ्जामा मतगणना गर्न निर्वाचन आयोग ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
election-commission-election-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ ।

बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना शुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अनिर्णित नै छ ।

कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ । आयोगका पाँच पदाधिकारीको संयुक्त बैठकले यसबारे निर्णय गर्नुपर्ने हुन्छ ।

आयोगको बैठक मंगलबार पनि बसेको थियो । तर कुनै निर्णय गर्न सकेन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनी परामर्श लिएर आज निर्णय हुन सक्ने बताए ।

स्याङ्जा २ मा बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताका नामबाट मतदान भएको दाबी गरिएको छ भने बाजुरामाको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । 

यहाँ पनि बुथ कब्जाको आरोप लगाइएको छ । आयोगले विवादितमध्ये दोलखामा पुनः मतदानको निर्णय गरिसकेको छ ।

तर स्याङ्जा र बाजुरामा मतगणना गर्न रोक्नुपर्ने कुनै कारणै नभए पनि निर्वाचन आयोगले जबरजस्ती मतगणना कार्यलाई रोक्दै आएको आरोप लागेको छ । 

कांग्रेसी नेताहरु एमालेको दबाबमा परेर आयोगले मतगणना रोकेको आरोप लगाइरहेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले बिना कारण मतगणना नरोकिने बताउँदै आएका थिए । 

तर स्याङ्जा २ मा छानबिन गर्न आएको टोलीको प्रतिवेदनसमेत नबुझी आयोगले निरीहता देखाएको आरोप छ । 

उसले आफैंले गठन गरेको समितिको प्रतिवेदनसमेत नबुझेर आयोगले विधिको प्रक्रियामाथिसमेत अविश्वास गरेको संकेत पाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ