arrow

तनावमा सुटुक्क सुकुटे पुग्ने प्रचण्ड यसपालि परिवारसहित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
prachanda-sukute-family-agni-sapkota.jpg
तस्बिर – श्रीधर न्यौपानेको फेसबुकबाट ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेका छन् । परिवारका सदस्यसहित माओवादीका नेता लिएर प्रचण्ड सुकुटे पुगेका हुन् । 

प्रचण्डसहितको टोलीले भोटेकोसीमा र्‍याफ्टिङ गरेको छ । प्रचण्डले बुधबारको बास सुकुटेमै बिताउने भएका छन् । छोरीद्वय रेणु र गंगासहित परिवारिक सदस्य, सभामुख अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरु प्रचण्डसँगै रहेका छन् । 

साथै हालै सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका माधव सापकोटा, प्रदेश सभामा निर्वाचित सरल सहयात्री पनि प्रचण्डको टोलीमा देखिएका छन् । 

यसअघि राजनीतिक तनाव बढ्दा अग्नि सापकोटासँग रिफ्रेस हुन सुकुटे पुग्ने गरेका प्रचण्डले सापकोटा सभामुख भएपछि भने यो कार्य रोकेका थिए । यसपालि भने परिवारसँग पुगेका हुन् । 

हुनत निर्वाचन परिणामपछि सरकार बनाउने बेला हुँदा प्रचण्ड तनावमै छन् । 

स्रोतका अनुसार माओवादी नेताहरु फेरि एमालेसँग सहकार्य गरेर सत्ता संचालन गर्न चाहन्छन् । तर सत्ता गठबन्धनलाई टुक्राउन नहुने आवाज पनि आइरहँदा प्रचण्ड केही तनावमा छन् । 

सुकुटेको र्‍याफ्टिङपछि उनी शान्त भएर फर्किएसँगै राजनीतिले नयाँ स्वरुप लिने अपेक्षा गरिएको छ । 

त्यसो त प्रचण्ड पार्टीको कुनै प्रतिवेदन वा विचार लेख्नुपर्यो भने पनि सुकुटे नै पुग्ने गरेका छन् । यसपालि कस्तो विचार लिएर फर्कन्छन् त्यो भने भोलिका दिनको राजनीतिक रंगले देखाउने छ । 
 



नयाँ