arrow

स्याङ्जा २ को मतगणना हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
election-2079 hamra.jpg

वालिङ । निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुँदैछ । स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै आज राति ९ बजेदेखि गणना हुँदैछ । 

मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि शुरु गर्ने सहमति भइसकेको उनले बताए । 

निर्वाचन आयोगले स्याङ्जा २ को मतगणना शुरु गर्न निर्देशन दिएसँगै मतगणनाका लागि प्रक्रिया थालिएको हो । अपरान्ह ४ बजेदेखि सर्वदलीय बैठक जारी रहेको छ । 

यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन । चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुनः मतदानको माग गर्दै आइरहेको थियो । 

कांग्रेसले भने जनताको अभिमतको सम्मान गर्दै छिटोभन्दा छिटो मतगणना गर्नुपर्ने अडान राख्दै आएको थियो । दुवै दलले आआफ्ना माग पूरा गर्न माग गर्दै वालिङमा विगत दश दिनदेखि निरन्तर धर्ना तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । 

यसबीचमा निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमा तीन सदस्यीय टोली स्थलगत अध्ययन अवलोकनका लागि पठाएको थियो । क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याल मुख्य प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ