arrow

कतार विश्वकप : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
argentina1.jpg

काठमाडौं ।  अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । 

गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २-० गोलअन्तरले हराएको हो । 

अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर खेलको ४६औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । 

त्यसपछि खेलको ६७औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्न सफल भयो । अर्जेन्टिनाले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोड्यो । पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो । 

त्यसैगरी गए राति कतारको लुसाइल रङ्गशालामा  सम्पन्न खेलमा मेक्सिकोले साउदी अरबलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको ४७औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए ।

त्यस्तै खेलको ५२औं मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा साउदी अरबका सलिम अल्दावसरीले सान्त्वना गोल गरे । 

समूह ‘सी’ बाट साउदी अरब र मेक्सिको समूह चरणबाट बाहिरिएका छन् । चार अङ्क जोडेको मेक्सिको तेस्रो स्थानमा रह्यो भने तीन अङ्क जोडेको साउदी अरबले अन्तिम स्थानमा रहँदै विश्वकपको यात्रा टुङ्गायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ