arrow

आइएमईको २२ औँ साधारण सभा : कम्पनीलाई आइपिओमा लैजाने प्रस्ताव पारित

आइएमई बन्यो नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
ime-ipo-2079-2022.jpg

काठमाडौँ। कम्पनीलाई आइपिओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ। नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रवार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। यो सँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ।

साधारण सभामा संक्षिप्त मन्तव्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरूको सुझाव र सल्लाहकै बाबजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे।

अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आइपिओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै आइएमईको आजसम्मको व्यावसायिक यात्रामा सहयोग गर्नुहुने सवैमा धन्यवाद व्यक्त गरे।

त्यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सह संस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औँल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान्, पारदर्शी र व्यावसायिक दायरा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए।

साधारण सभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आइएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए।

अव नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले शीघ्र आइपिओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए।


यो प्रक्रियाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितो पत्र बोर्डमा निवेदन दिनेछ।  सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रक्रिया अगाडी बढ्नेछ।

रेमिटेन्स समाधान प्रदायकहरू मध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ। आइएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ। आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने कम्पनीले जनाएको छ।

आइएमईको इतिहास :
नेपालको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क र बैङ्क नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो। सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको सुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिटेन्सको माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ।

अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्रान्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ।

तत्कालीन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पुर्‍याउनका लागि औपचारिक माध्यमको ठुलो अभाव थियो। औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो। त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई आज २२ वर्षमा प्रवेश गरेको छ।



नयाँ