arrow

निष्ठाको राजनीति उदय : काँग्रेस उपसभापति गुरुङ

स्याङ्जा काँग्रेसले विरासत फर्कायो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ मंसिर १८ आइतबार
syangja-dhanraj-gurung-congess.jpg

स्याङ्जा। निर्वाचन क्षेत्र २ मा मतदान भएको १० दिनपछि भएको मतगणना शनिवार राती सम्पन्न भएको छ। ७१ हजार १ सय ९१ मतदान भएको स्याङ्जा २ मा सङ्घ र प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट नेपाली काँग्रेसका तिनै जना उम्मेदवार विजयी भएका हुन्। प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति गुरुङ ५ हजार ६ सय २७ मतान्तरले नेकपा एमालेका उम्मेदवार केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गरी विजयी भएका छन्।

उपसभापति गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी सचिव अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरेकी थिइन्। पछिल्लो समय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पाटीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत प्राप्त गरेका थिए।

२०७४ को निर्वाचनमा नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर केन्द्रीय राजनीतिमा उदाएकी अर्याललाई २०७९ को आम निर्वाचनले ब्रेक लगाएको छ।

त्यसै गरी गण्डकी प्रदेशसभा सदस्यमा दुवै जना नेपाली काँग्रेसबाट निर्वाचित भएका छन्। निर्वाचन क्षेत्र २ प्रदेश (क) बाट भोजराज अर्याल र प्रदेश (ख) मा महेश भट्टराई निर्वाचित भएका छन्। अर्यालले १५ हजार १ सय ६१ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन रेग्मीले १२ हजार ४ सय ३१ मत प्राप्त गरेका थिए। त्यसै गरी प्रदेश २ मा भट्टराईले १८ हजार ७ सय ८८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १७ हजार २ मत प्राप्त गरेका थिए। 

२०७४ को आम निर्वाचनमा एक प्रदेश र सङ्घ जितेको नेकपा एमालेले अहिले दुवै क्षेत्र गुमाएको छ। नेपाली काँग्रेसले आफ्नो विरासत २०७९ को निर्वाचनबाट फर्काएको छ। प्रदेश (क) का उम्मेदवार रेग्मी २०७४ को निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए। पुन : प्रदेश सदस्यमा उम्मेदवार बनेका रेग्मीलाई २०७९ को निर्वाचनले सांसद बन्न रोकिदिएको छ। प्रदेश (ख) मा भने दुवै उम्मेदवार नयाँ अनुहारका भए पनि २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका भागवत प्रकाश मल्ल निर्वाचित भएका थिए। यो प्रदेशको विरासतलाई काँग्रेसले कायमै राख्न सफल भएको छ।

निर्वाचित प्रतिनिधिसभा सांसद र प्रदेशसभा सांसदलाई आइतबार निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिएर बधाई तथा शुभकामना सम्पन्न गरेको छ। उक्त बधाई तथा शुभकामना कार्यक्रममा नव निर्वाचित प्रतिनिधिसभा सांसद धनराज गुरुङले निष्ठाको राजनीतिको उदय भएको बताए। यो विजयले देशलाई निष्ठाको राजनीतिमा लैजान सहयोग हुने विश्वास दिलाए। 

भ्रष्ट्राचारको अन्त्य नभएसम्म मुलुकको विकास नहुने दाबी गर्दै आएका उपसभापति गुरुङले यो निर्वाचनमा भ्रष्ट्राचारको विषयलाई मुख्य मुद्दा बनाएर मतदाता बिच पुगेका थिए। गण्डकी प्रदेशसभा सांसदमा निर्वाचित अर्याल र भट्टराई प्रदेशका मतादाताको शिर उच्चो रहने गरी काम गर्ने विश्वास दिलाए।

प्रदेशको विकासमा राजनीतिक विभेद नगरी साझा सांसद भएर काम गर्ने प्रतिबद्धता उनीहरूको थियो। स्याङ्जा निर्वाचन क्षेत्र १ मा नेपाली काँग्रेसका जिल्ला सभापति राजु थापा प्रतिनिधिसभामा निर्वाचित भएका छन् भने दुई प्रदेशमा नेकपा एमालेले विजयी हासिल गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ