arrow

मानसिक रोगीको उपचार निःशुल्क हुनुपर्छ : जिसस प्रमुख पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
liladhar.jpg

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले मानसिक रोगबाट पीडितहरूको राज्यले निःशुल्क उपचारको प्रबन्ध गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि जिल्ला समन्वय समितिकोतर्फबाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 

सोमबार आयोजित बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकलाई सम्बोधन जिसस प्रमुख पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

कास्कीका सरोकारवाला सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी बैठकमा पौडेलले प्रकृतिमैत्री विकासको अभावमा बढ्दो वातावरणीय प्रदुषण, आहार-विहार लगायतका कारण देशमा उल्लेख रूपमा मानसिक रोगीहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गरे ।

मानसिक रोगको समयमा निदान नहुँदा पारिवारिक र सामाजिक जीवन नै प्रभावित भएको भन्दै पौडेलले स्वस्थ नागरिक विना देश विकास असम्भव हुने स्पष्ट पारे । 

उनले स्वास्थ्य सेवालाई आधारभूत आवश्यकताको रूपमा व्यवस्था गर्दै आफ्ना नीति कार्यक्रम बनाउन सरकारलाई आग्रह गरे ।

पौडेलले मानसिक समस्या एक जटिल समस्याको रूपमा आएको उल्लेख गर्दै कास्कीमा सो समस्याको उपचारका निम्ति सुविधासम्पन्न उपचार केन्द्रको स्थापनाका लागि कार्यक्रममा समावेश गर्न स्थानीय तह, प्रदेश र संघीय सरकारलाई आग्रह गरे ।

सो अवसरमा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाहरूले महामारीको बेला मात्रै उपचारका उपाय खोज्ने प्रथाको अन्त्य हुने गरि काम गर्न आग्रह गरे । बरालले अनुदानमुखी कार्यक्रममा मात्रै भर नपरि स्वावलम्भी कार्यक्रममा जोड दिए ।



नयाँ