- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज बिहान पोर्चुगल र स्वीट्जरल्याण्डबीचको राउन्ड अफ सिक्सटिनको अन्तिम खेल भएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
यसपालि साविक विजेता फ्रान्ससँगै साविक उपविजेता क्रोएसिया, सर्वाधिक उपाधि विजेता ब्रजिल, अर्जेन्टिना, इङ्गल्याण्ड, नेदरल्याण्ड्स, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका हुन् ।
क्वार्टरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा ब्रजिल र क्रोएसिया खेल्नेछन् । यो खेल शुक्रबार राति ८ः४५ बजे शुरु हुनेछ ।
सोही राति १२ः४५ बजे नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्ने छन् ।
त्यस्तै शनिबार राति ८ः४५ बजे मोरक्को र पोर्चुगल भिड्ने छन् । सोही राति १२ः४५ बजे इङ्गल्याण्ड र फ्रान्सबीच भिडन्त हुनेछ ।
राउन्ड अफ सिक्सटिनमा नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ ले, अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले, फ्रान्सले पोल्याण्डलाई ३–१ ले र इङ्गल्याण्डले सेनेगललाई ३–० ले हराएको थियो ।
त्यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले, ब्रजिलले दक्षिण कोरियालाई ४–१ ले, मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले तथा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६–१ ले हराएको हो ।
मोरक्को पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । छैटौं सहभागीतामा मोरक्कोले उक्त कीर्तिमान रचेको हो ।
यसअघि मोरक्को सन् १९७०, १९८६, १९९४, १९९८ र सन् २०१८ मा विश्वकप खेल्न सफल भएको थियो ।
मोरक्को विश्वकपको क्वार्टरफाइनल खेल्ने चौथो अफ्रिकी टीमसमेत बनेको छ । यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घानाले क्वार्टरफाइनल खेलेको थियो ।
प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ (पुस ३ गते) हुनेछ ।