arrow

हानथाप सरकार गठनको 

चुनावपछि सरकारको नेतृत्व आफूले गर्ने सहमति देउवासँग गरेको प्रचण्डको खुलासा

आधा कार्यकाल आफूले पाउनुपर्नेमा प्रचण्डको जोड, देउवा मौन रहेपछि एमालेसँग सहकार्य गर्ने घुर्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
deuba-prachanda-final-433.jpg

काठमाडौं । ‘मिसन प्रधानमन्त्री’ बनाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधा आधा कार्यकालको पहिलो पटक सरकारको नेतृत्व गर्न नपाए सरकार बाहिर बसेर समर्थन गर्ने भन्दै घुर्की देखाउन थालेका छन् । 

आफू निकट रहेका केही नेताहरुलाई उनले आउँदो सरकारको नेतृत्व गर्न नपाउने हो भने सरकारलाई समर्थन गर्ने तर बाहिर बसेर गर्ने भन्दै घुर्की देखाउन थालेका छन् ।

 ‘अहिले हाम्रो पालो हो मौखिक सहमति पनि त्यही छ त्यसअनुसार काम गर्न पाइएन भने सरकारमा जानुको अर्थ हुन्न’, प्रचण्डले आफू निकटका केही नेताहरुसँग बुधबार साँझ खुमलटारमा भनेका थिए । बुधबार साँझ आफू निकटका नेताहरुसँग भेटघाट गरेका प्रचण्डले त्यस्तो धारणा राखेको माओवादी निकट स्रोतले जनाएको छ ।  

सरकारभन्दा बाहिर बसेर सहयोग गर्नुपर्नेमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणी पोखरेल तथा हरिबोल गजुरेल पनि सहमत रहेका छन् । त्यसैगरी महासचिव देवप्रसाद गुरुङ पनि मौखिक सहमति कार्यान्वयन नभए तत्काल बाहिर बसेर सहयोग गर्नुपर्नै भन्दै प्रचण्डलाई उक्साइरहेका छन् ।  

नेपाली कांग्रेससँगको चुनावी गठबन्धन फलदायी नभएको भन्दै माओवादीका नेताहरूले सार्वजनिकरूपमै अभिव्यक्ति दिइरहेका छन् । गत शनिबार निर्वाचनबारे समीक्षा गर्न बसेको माओवादीको बैठकले एमालेसँग पनि सहकार्य गर्न सक्ने निर्णय गरेको थियो । 

शुरुको बैठकमा सो निर्णय गराएका प्रचण्डले त्यसपछि आइतबार बसेको बैठकले भने गठबन्धनलाई पहिलो प्राथमिकता दिने निर्णय गराए पनि अघिल्लो निर्णय भने खारेज गरेको छैन । 

शनिबारको बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले बैठकको चुरो कुरो बाहिर ल्याएका थिए । ‘अहिलेको गठबन्धन छाड्ने निर्णय भएको छैन । तर एमालेलगायत दलहरूसँग सहकार्यको विकल्पमा हामी खुल्ला छौँ’, महराले भनेका थिए । 

महराले यस्तो अभिव्यक्ति दिएको भोलिपल्टै महासचिव गुरुङले सच्याउदै खण्डन गरेका थिए ।  ‘सत्तागठबन्धनको विकल्पबारे नसोचेको’ भनेर त्यसलाई सच्याउने प्रयत्न गरे । तर आफ्नो भित्री रणनीति कुनै नेतामार्फत बोल्न लगाएर ‘नाडी छाम्ने’ माओवादी केन्द्र अध्यक्ष प्रचण्डको रणनीति हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।  

माओवादी नेताहरूले कांग्रेसकै कारण आफ्ना लागि चुनावी नतिजा अनपेक्षित बनेको बताउन थालेपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष  प्रचण्डलाई बोलाएरै ‘गठबन्धनमा रहेर गठबन्धनकै दलविरुद्ध अभिव्यक्ति नदिन’ भनेका थिए । तर प्रचण्डले भित्र भित्रै सरकारमै नजाने भन्दै कांग्रेसलाई घुर्की दिन थालिसकेका छन् ।

देउवासँगको भेटमा ‘अहिलेकै गठबन्धनलाई अगाडि बढाउने’ निष्कर्ष सुनाएर माओवादीका नेताहरूलाई अब गठबन्धनबारे ‘जथाभाबी’ बोल्न रोक लगाउने बाचा गरे पनि त्यो बाचा प्रचण्डबाटै उल्लंघन भइरहेको छ । 

पछिल्लो भेटमा प्रचण्डले आधा आधा कार्यकालको शुरुको प्रधानमन्त्री आफू बन्न पाउनुपर्ने प्रस्ताव गरेका थिए । तर देउवा मौन बसेपछि प्रचण्डमा त्यसप्रकारको छटपटी भएको स्रोतको दाबी छ । माओवादीका अधिकांश नेताले प्रचण्डलाई शुरुआतमै सरकारको नेतृत्व लिन दबाब दिएका कारण प्रचण्डले हौसिएर यस्तो बताएको स्रोतको दाबी छ । 

 ‘सत्ता गठबन्धनको सरकार निर्माण भएपछि देउवा र मबीच चुनाव लगत्तै सरकारको नेतृत्व माओवादीलाई दिने गरी मौखिक समझदारी भएको थियो । गठबन्धन बनाएरै चुनावमा गइयो । कतै राम्रो कतै नराम्रो परिणाम आयो, अब प्रधानमन्त्री बन्ने माओवादीको हो, सोचे जस्तो नतिजा आएन भनेर छोड्ने भन्ने हुँदैन,’ प्रचण्डले आफू निकटका नेताहरुसँग भनेका थिए ।  

उनले शुरु कार्यकालको प्रधानमन्त्री नदिए गठबन्धन सरकारका सहभागी नभई बाहिर बसेर समर्थन गर्न सकिनेसमेत बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ