arrow

दलले पत्याएर संसदको नेतृत्व सुम्पेका सचेतकहरुको शर्मनाक हार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
pramukh-sachetak-haruwa-2079.jpg

काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभाको निर्वाचनले चुनावी परिणाम उथलपुथल पारेको छ । अनपेक्षित नतिजा आएका कारण पनि यो निर्वाचन राजनीतिका केही चर्चित अनुहारका लागि सुखद रहेन । 

प्रमुख पार्टीका धेरै नेताहरु चिप्लिएको यो चुनावले प्रमुख सचेतक र सचेतकहरुलाई पनि असफलताकै बाटोमा लग्यो । अचम्मको संयोग मान्नुपर्छ यसपालि दलले पत्याएर सिंगै संसदको जिम्मा दिएका सबै दलका प्रमुख सचेतक र सचेतकहरुको शर्मनाक हार भएको छ । 

प्रमुख सचेतक र सचेतकहरु लगभग सबै पार्टीबाट गुल्टिए । नेपाली कांग्रेसबाट प्रमुख सचेतक भएका गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण पराजित भए । त्यसो त गृहमन्त्रीले नै हार बेहोर्नुलाई त्यति स्वभाविक मानिन्न । तर उनले हारे । यसअघि २०६४ सालको निर्वाचनमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला पनि पराजित भएका थिए । 

यसपालि खाँणले हार्नुलाई त्यति स्वभाविक मानिएको छैन । किनकि उनी कांग्रेसको संस्थापन पक्षका बलिया नेता हुन् । त्यतिमात्रै हैन उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका दाहिने हात हुन् । साथै गठबन्धनमा उनले राम्रो दख्खल राख्छन् । तर उनी पराजित भए । 

त्यस्तै कांग्रेस सचेतक भएकी निवर्तमान उपसभामुख एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुषाल पराजित भइन् । कांग्रेसका मीनबहादुर विश्वकर्माले टिकट नै पाएनन् । 

नेकपा एसका सचेतक पर्यटन मन्त्री जीवनराम श्रेष्ठ चिप्लिए । माओवादी केन्द्रबाट सचेतक भएका देवप्रसाद गुरुङलाई पनि यो चुनाव फापेन । 

एमालेका प्रमुख सचेतक विशाल भट्टराई चिप्लिए । सचेतक भएकी शान्ता चौधरी पनि पराजित भइन् दाङबाट । जसपाका प्रमुख सचेतक प्रमोद साह र लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया पनि यसपटकको संसदमा देखिने छैनन् । अरगरिया त चुनावका बेलामा एमालेमा प्रवेश गरेका थिए । तर पनि संसदमा देखिने सौभाग्य उनलाई मिलेन । 

सबै सचेतकहरु पराजित हुनुको प्रमुख कारण संसदको गरिमा राख्न सचेतकहरु चुकेको विश्लेषण गरिएको छ । 

एक निवर्तमान कांग्रेस सांसदका अनुसार कांग्रेसले कुनै पनि पारदर्शीता नअपनाएका कारण नै खाँण पराजित हुन पुगेका हुन् । गृहमन्त्री भएर पनि खाँण आफूले नै प्रमुख सचेतक ओगटेर बसे । पुष्पा भुषाल सक्रिय रहे पनि उपसभामुख भएसँगै उनी पनि भुङ्ग्रोमा परिन् । 

नेकपा हुँदा प्रमुख सचेतक रहेका देव गुरुङ एमाले र माओवादी टुक्रिएपछि माओवादीको प्रमुख सचेतक बने । तर उनले संसदमा भूमिका खेल्न सकेनन् । उम्मेदवारी दर्ताको केही समयअघिसम्म पनि उनले एमालेसँग मिल्नु पर्नेतर्फ लबिङ गरिरहेका पाइन्थे । उनलाई एमालेकै उम्मेदवारले हराइदिए । दोधारे चरित्र देखाएकै कारण उनलाई गठबन्धनले सहयोग नगरेको स्पष्टै हुन्छ । 

विशाल भट्टराईले समग्रमा एमालेका सांसदहरुलाई समेट्नुको सट्टा एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीका सहयोगी बनेर मात्र बसे । जसका कारण उनलाई आउनु पर्ने स्पष्ट मत आएन । 

अर्थात् विधि र विधानअनुसार संसदीय दल नचलाएका कारणले नै हुनुपर्छ सबै दलका प्रमुख सचेतकहरु पराजित पराजित भए । 

पूर्व सचेतकमा रेखा शर्मा विजयी भइन् । माओवादी केन्द्रकी रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरिन् । 

२०७४ सालमा माओवादी संसदीय दलकी प्रमुख सचेत बनेकी शर्माको भाग्य यसपालि बलियो भएको हो । 

माओवादीका हेभिवेट देव गुरुङलाई एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले लमजुङमा पराजित गरेका हुन् । 

त्यतिमात्रै होइन बहालवाला गृहमन्त्री खाँण नै पराजित भए । उनलाई राप्रपाका दीपक बोहोराले पराजित गरे । 

एमालेका पोलिटब्युरो सदस्य तथा एमालेका पूर्व प्रमुख सचेतक विशाल भट्टराईलाई हराउँदै खोटाङबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई विजयी भए । 

अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले निवर्तमान उपसभामुख एवं नेपाली कांग्रेसकी पूर्व सचेतक पुष्पा भुषाललाई पराजित गरे । 

सभामुख र मन्त्री भइसकेका थुप्रै नेताहरुका लागि संसदको यात्रा यसपटक रोकियो । सोही आगोको भुङ्ग्रोमा गृहमन्त्री पनि परे । कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरु पनि परे । 

पार्टी नेतृत्वले विश्वास गरे पनि उनीहरुलाई मतदाताले विश्वास नगरेपछि पराजित हुनुपरेको हो । 

यसबाट अब बन्ने प्रमुख सचेतक र सचेतकले संसदमा कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरा पनि सोच्नुपर्ने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ