arrow

क्रोएसिया सेमिफाइनलमा, बाहिरियो ब्रजिल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
croatia-qatarworldcup-semifinal.jpg

काठमाडौं । क्रोएसिया कतार विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार रातिको पहिलो क्वार्टरफाइनलमा ब्रजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा पुगेको हो । 

क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो । 

यसअघि एजुकेसन सिटी स्टेडियममा भएको खेलमा ब्रजिलले अग्रता लियो । निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फ गोल नभएपछि थपिएको ३० मिनेटको पहिलो १५ मिनेटको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्रजिललाई अग्रता दिलाए । 

लुकास पाक्वेटाको पासमा गोल गरेका नेयमारले ब्रजिलका लागि ७७ गोल गरेका छन् । उनले पेलेको बराबरी गरेका छन् । तर ११७ औं मिनेटमा ब्रुनो पेट्कोभिक्ले गोल गर्दै बराबरीमा ल्याए । 

थपिएको ३० मिनेटमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा निर्णायक भएको हो । 

पेनाल्टीको शुरुआत क्रोएसियाले गर्यो । 

क्रोएसियाका निकालेस भ्लासिकले गोल गरे । क्रोएसियाले १–० को अग्रता लियो । ब्रजिलका रोड्रिगोको प्रहारलाई गोलपिकरले रोकिदिए । 

दोस्रो प्रहारमा पनि क्रोएसियाले गोल गर्यो । लोभ्रो माजेरले गोल गरे र २–० को अग्रता लियो । क्यासेमिरोले गोल गर्दै ब्रजिललाई २–१ को स्थितिमा ल्याए । 

तेस्रो प्रहारमा लुका मोड्रिचले गरेको प्रहार गोलमा परिणत भयो । क्रोएसियाले सबै तीन गोल गर्यो । ब्रजिलका पेड्रोले गोल गर्दै ३–२ को स्थितिमा ल्याए । 

चौथो प्रहारमा पनि क्रोएसियाले गोल गर्यो । मिस्लाभ ओर्सिकले गोल गरे । ब्रजिलका माक्विनसले गोल गर्न नसक्दा क्रोएसिया ४–२ ले विजयी भयो र सेमिफाइनलमा पुग्यो । 

ब्रजिल पछिल्ला पाँच क्वार्टरफाइनलमा चौथो पटक क्वार्टरफाइनलबाटै बाहिरिएको छ । 

क्रोएसियाले अहिलेसम्म भएका चार वटै विश्वकपका पेनाल्टी सुटआउटमा जित हासिल गरेको छ । 

ब्रजिल पाँच पटकको च्याम्पियन हो भने क्रोएसिया साविक उपविजेता हो । राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई तथा ब्रजिलले दक्षिण कोरियालाई हराएको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ