arrow

तस्करी बढेको भन्दै मुख्यालय तानिए पोखरेल र थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
apf-armed-police-force-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मधेस प्रदेशको सीमा नाकाबाट तस्करी बढेको भन्दै दुई जिल्लाका सशस्त्र प्रहरी प्रमुख एसपी र चार प्रहरी निरीक्षकलाई सशस्त्र मुख्यालयमा तानिए पनि तस्करी रोकिएको छैन । 

प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावसँगै एसपीहरुको मिलेमतोमा तस्करीको लाइन खुला गरिएको भन्दै दुई एसपीलाई मुख्यालय तानिएको थियो । तर पनि पर्सादेखि सर्लाही रौतहटसम्म खुलेआम तस्करी भइरहेको छ ।

सशस्त्र प्रहरी मुख्यालयले पर्साका एसपी तेज पोखरेल र बाराका एसपी राजेन्द्र थापालाई मात्रै मुख्यालय तानेको छ तर सर्लाहीका एसपी भरत खनियालाई भने तान्न सकेको छैन । 

उनीहरुलाई तानेपछि झन् तस्करी बढेको स्रोतको दाबी छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको विशेष टोलीले पर्साको छिपहरमाई गाउँपालिका २ टिउकीबाट २३० क्विन्टल गहुँसहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोली समेतको सहकार्यमा प्रदेश प्रहरी कार्यालयको टोलीले इन्जिन छाडेर भागेका थप दुई ट्रयाक्टर पनि नियन्त्रणमा लिएको थियो । 

ट्रयाक्टरबाट ८० क्विन्टल सख्खर बरामद भएको थियो । इन्जिन भएको ना २ त ४०३६ नम्बरको सोनालिका ट्रयाक्टर र इन्जिन नभएको दुई ट्रेलर नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको छ । 

पक्राउ परेका सबै सामग्रीको मूल्य १५ लाख रुपैयाँ कायम गरी भन्सार चलान गरिएको छ । ठूलो परिमाणमा तस्करीको सामान बरामद भएपछि पर्सामा खुलेआम तस्करी भइरहेको पुष्टि भएको हो ।

यसैगरी पर्साको वीरगन्ज बीओपीले वीरगन्ज मनपा १४ पावरहाउस चोकबाट गत १८ मंसिरमा ना ४ ख ९४३५ नम्बरको ट्रक बिलमा फरक परेको सामान देखेपछि राजस्व कार्यालय पथलैया पठाएको थियो । 

यसैगरी १९ मंसिरमा ना ३ ख ७०५२ नम्बरको ट्रकमा लोड भएको सामान वीरगन्ज १५ प्रतिमा चौकबाट नियन्त्रणमा लिएर अनुसन्धानको लागि पथलैया पठाएको थियो सशस्त्र प्रहरी स्रोतले जनाएको छ । पर्सादेखि सर्लाहीसम्म नियमित रुपमा सीमा वारपार तस्करी भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र एसपी उद्धव रावलको नेतृत्वमा मार्शल टोली खटाई तस्करीबारे स्थलगत अनुसन्धान गरेको थियो । 

मार्शल टोलीको प्रतिवेदनको आधारमा मुख्यालयले सशस्त्र प्रहरी बल १२ नम्बर गण बारा हेडक्वार्टरका गणपति एसपी राजेन्द्र थापा र १३ नम्बर गण पर्सा हेडक्वार्टरका गणपति तेज पोखरेललाई मुख्यालयमा तानेको थियो । 

उनीहरु पुन शक्तिको आडमा फर्किन खोजिरहेका छन् । दुईदिन अघि मात्रै एक राणा थरका विचौलियामार्फत उनीहरु कार्यक्षेत्रमै फर्कन खोजेको स्रोतको दाबी छ । 

यतिबेला सीमा आसपासबाट खेतीको लागि मलखाद ल्याउँदा दुःख दिने सशस्त्र प्रहरीले तस्करीलाई रोक्न नसकेको देखिएको छ । अहिले पर्साको सिक्टा भिस्वा, बुरगाइ, टिहुकी, अमरपटी, भेलाही, जानकी टोला, भोरे, खेसराहा, सबैठवा लगायतका नाकाबाट तस्करी भैरहेको छ । 

पर्साको टिहुकी नाकाबाट दैनिक १० देखि १५ ट्रयाक्टर सामान तस्करी हुने गरेको स्थानीयको भनाइ छ। पर्साको विभिन्न नाकाबाट तस्करी भइरहँदा बारा पनि अछुतो छैन । रौतहटको बङ्कुल, मठिया, रामपुर खाप, लक्ष्मीपुर बेलबिछवा नाकाबाट पनि तस्करी भइरहेको छ ।

तस्करीबारे जानकारी पाए पनि मधेस प्रदेश सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगर पर्सा नाकाबाट भएको तस्करीबारे मौन रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ