arrow

हेमोफिलिया सोसाइटी गण्डकीमा श्रीकृष्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
shreekrishna poudel.jpg

पोखरा । हेमोफिलिया सोसाइटी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् । सोसाइटीको शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । पौडेल यसअघिको कार्यकालकालमा सचिवको भूमिका निर्वाह गरेका थिए ।

संस्थाको उपाध्यक्षमा कास्कीका गायत्री क्षेत्री, सचिवमा स्याङ्जाका प्रकाश पौडेल, कोषाध्यक्षमा लमजुङका विनिता जमरकट्टेल, सहसचिवमा कास्कीका सुजन सुनार छन् ।

यसैगरी कार्यसमिति सदस्यमा कास्कीका देवीलाल नेपाली, म्याग्दीका दण्डपाणि पौडेल, कास्कीका गोविन्द भण्डारी र खेमबहादुर केसी, तनहुँका आदर्श श्रेष्ठ, तनहुँका कमला थापा छन् । 

अध्यक्षमा निर्वाचित पौडेलले हेमोफिलीया सोसाइटीको समस्या समाधान गरि संस्थाको सिस्टम बसालेर काम गर्ने प्रतिवद्धता जनाए । 

उनले गण्डकी प्रदेशका हरेक स्थानीय तह तथा गण्डकी प्रदेश सरकारसंग सहकार्य गरि सम्बन्धित निकायसंग वकालत गर्ने, हेमोफेलिकबीच नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम र शिपमूलक कार्यक्रम सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे । 

यसअघि कार्यक्रम शुभारम्भ गर्दै पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. भरतबहादुर खत्री पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हेमोफिलीयाको विशेष उपचारका लागि आफूले ध्यान दिने बताए । उनले अस्पतालको गुणस्तर सुधारका साथै सेवाग्राहीलाई सहज ढंगले सेवा पाउने वातावरण मिलाउन आफू लागिपर्ने प्रतिवद्धता जनाए । 

हेमोफिलीया सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष मुकुन्दमणि घिमिरेले प्रदेश सरकार तथा पोखरा महानगरपालिकाबाट विनियोजित रक ले औषधि खरिद गरेको भन्दै अब हरेक जिल्लामा सेवा केन्द्र खोल्ने स्पष्ट पारे । 

उनले हालसम्म काठमाडौंमा मात्र हेमोफिलीया पहिचान उपकरण भएकोमा अब गण्डकी प्रदेशबाट पनि सञ्चालन गर्ने तथा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा हेमोफिलिया सेवा केन्द्र तत्कालै सञ्चालन गर्न सम्बन्धित निकायसंग सहकार्य गर्ने  प्रतिवद्धता जनाए ।

सोसाइटीका महासचिव रेशमलाल रानाभाटले गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ वटा जिल्लामा हेमोफेलिक पीडित ८९ जना रहेको जानकारी दिए । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रति १० हजारमा एक जना हेमोफिलिक जन्मने तथ्यांक रहेता पनि नेपालमा पहिचान नभएकै कारण तथ्यांक आउन नसकेको उनले बताए । 

सोसाइटीका प्रदेश उपाध्यक्ष बालकृष्ण मल्लको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशनालयका फिजियोथेरापिष्ट डा. अजित पाण्डे तथा ल्याव टेक्निसियन राजेन्द्र पौडेल, सोसाइटीका केन्द्रीय सदस्य सन्दिप खत्री, प्रीति थापा तथा सदस्य सेवा अधिकृत गायत्री मगराती सहभागी थिए । 



नयाँ