arrow

सूर्यदेवको प्रिय दिन कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
rashifal-horoscope-blue_1618100665.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ मंसिर २५ गते आइतबार, इस्वीसंवत डिसेम्वर ११ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषकृष्णपक्षको तृत्तीया तिथि रहनेछ ।

नक्षत्रमा पुनर्वसु, विष्कुम्भादि योगमा ब्रह्म, करणमा भद्रा, आनन्दादि योगमा ध्वज रहनेछ । सूर्य वृश्चिक राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । दिनमान २५ घटि ५५ पला अर्थात १० घण्टा २७ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४५ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०८ बजे हुनेछ ।

आजको राशिफल 

मेष : आज दिन अनुकूल नै देखिन्छ तथापि अपेक्षा गरेजति लाभ हुनलाई अल्लि ग्रहको अबरोध देखिएको छ । केही मात्रामा आर्थिक कोषमा धनद्रव्य सङ्कलन हुनेछ । व्यवसायिक व्यस्ततामा रहनुपर्ने छ । क्षणिक रुपमा भएपनि कमजोरी लुकाउन सकिनेछ । हर्ष एवम् सुखकर समाचार पनि मिल्नेछ । प्रयत्नले सहयोग जुटाउन पनि सकिनेछ । बढी इच्छाएको काम गराउन भने केही ग्रह उपचारको उपाय अवलम्बन गर्नु पर्ने देखिएको छ । सामान्यतया दैनिकी कार्यमा पुरुषार्थ बृद्धि हुने र प्रसंशा पनि मिल्नेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोग र गुरु गणपतिको साथमा आदिशक्ति भगवतीको स्तुति गर्नु शुभकर हुनेछ ।

वृष : आजको दिन केही मानमर्यादा एवं अवसरको सम्भावना छ तर आफ्नै व्यवहारमा कमिकमजोरी रहनाले तथा आत्मबलमा ह्रास आउनाले प्राप्त हुने उपलब्धिलाई सम्हाल्न नसिकने हो कि भन्ने लक्षण देखिन्छ । राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आत्मबल बढाउन ज्योतिषीय दृष्टिमा भैरवदेवको सेवा आराधना गर्नु उचित देखिन्छ ।

मिथुन : आज राहतपूर्ण तथा पूण्यार्जन गर्नसकिने खालको दिन रहेको छ । धर्मकर्ममा मन जाने र आध्यात्मिक तथा आस्तिक भावना वृद्धि हुने भएकोले मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि लक्ष्मी कृपा बढ्नेछ । भौतिक पराक्रम गर्न पनि सक्नुहुने छ । तीर्थादि क्षेत्रको यात्राको सम्भावना देखिएको छ । महत्वपूर्ण कामको योजना एवम् थालनीको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । नौ अंक पहेलो रंग र धार्मिक जन वा धार्मिक क्षेत्रमा सेवा सहयोग गर्नु आज यहाँको लागि पूण्यकर हुनेछ ।

कर्कट : आजको दिन साविकभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । दीर्घरोगीहरुले निकै सावधानी अप्नाउनु होला । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरुको लागि चोटपटकजन्य खतरा पनि देखिन्छ ख्याल पुर्याउनु पर्ला । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ रहनेछ भने बाधाबिघ्न निवारको लागि इष्टदेवको साधना बढाउनु उपयुक्त हुनेछ ।

सिंह : आजको दिन विलासवृति बढ्ने खालको दिन रहेको छ । आमोद–प्रमोद एवम् भौतिक सुखप्रति चाहना बढ्ने छ । व्यवसायतर्फ भने ग्रहगोचरले ठिकै देखाएको छ, उन्नति भएर आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । अल्लि बढी आसक्ति गरिएको काम भने पूरा नहुने हो कि भन्ने सम्भावना देएिको छ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने बढी ईच्छ्याएको कामपूर्ण गर्न विद्वानजनको आर्शिवाद लिनु उपर्युक्त हुनेछ ।

कन्या : आजको दिन केही पराक्रम बढ्ने दिन रहेको छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, बाँकी कामको लागि गोचर स्थिति अनुकूल नै देखिन्छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा केहीहद्सम्म सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । घमण्ड नगर्ने र समयको सदुपयोगमा ध्यान दिने गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ । विशेष काममा आउने अबरोध निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु उपयुक्त हुनेछ ।

तुला : आजको दिन ज्ञान प्रधान रहेको छ । विद्वान जनसँग ज्ञानगुन सिक्ने तथा विद्यार्जन गर्ने कामले सार्थकता पाउने छ । अध्ययन अध्यापन तथा ज्ञानविज्ञानको क्षेत्रमा आजको दिन बढी उपयोगी रहनसक्ने छ । यहाँको बुद्धिविवेकले सही काम गर्नसक्ने र मान्छेहरुबाट प्रशंसा पनि मिल्न सक्नेछ । सैद्धान्तिक पक्षमा अडान लिनुले प्रख्याति बढाउन मद्दत गर्नेछ । व्यवसायमा प्रगति र आर्थिक लाभको पनि योग छ । आज यहाँलाई पाँच अंक, रातो रङ्ग शुभ हुनेछ भने सूर्यदेवलाई अघ्र्य दिनु वा गुरुकुल आदिलाई सहयोग गर्नु पूण्यप्रद हुनेछ ।

वृश्चिक : आजको दिन राम्रै व्यवहार गर्दा पनि परिणाम अनायाशै उल्टो आउनसक्ने गोचर देखिएको छ । मान्छेहरुसँग बोली व्यवहार गर्दा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । अन्यथा वादविवाद तथा मनमुटाव जन्य प्रतिकूलताको सामना गर्नपर्ने सम्भावना रहेको देखन्छि होसियारी अपनाउनु होला । मानसिक सोँचमा पनि संकिर्णता बढ्नसक्ने छ भने स्वास्थ्यमा पनि केही मन्दि आउन सक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना देखिन्छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने यहाँलाई आमा वा आमासमानकी मातृशक्तिको आर्शिवादले विघ्नबाधा हटाउन मद्दत गर्नेछ ।

धनु : आजको दिन हिम्मतिलो र सक्रिय भूमिका हुँदाहुँदै पनि मुख्य काममा अपेक्षा गरेबमोजिम फल नपाइने हो कि भन्ने शङ्का देखिएको छ । तथापि ठूलो परिणाममा नभएपनि केही उपलब्धि भने हुनेछ । आज गर्नै खोजेको कार्यलाई मान्यजनको अनुमति नमिल्न पनिसक्ने कुरालाई नकार्न सकिन्न । बा“की पक्षमा उत्साह–उमङ्गिलो दिन मान्न सकिन्छ । स्वजनबाट सहयोग मिल्ने र प्रतिस्पर्धामा विजय भइने छ । सामान्यतया आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । आज श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग गर्नु र भैरवदेवलाई खुशी बनाउनुले मुख्यकाममा आउने अबरोध निवारणको लागि मद्दत गर्नेछ ।

मकर : आजको दिन गोचर प्रभाव सकारात्मक देखिएको छ । जसको कारणले गर्दा बोलीको माधुर्यताले मान्छेहरुलाई प्रभाव पार्न सकिने छ । प्रतिनिधित्त्व गर्ने व्यक्ति तथा वाणीवृति हुनेहरुको लागि आजको दिन बढी अनुकूल रहनसक्ने छ । परोपकारादि समाजसेवाको अवसर मिल्नेछ भने धन–धातु–खजाना आदिको संग्रह गर्न पनि सकिने छ । कुटुम्बजनसँग मिलन हुने र व्यवहारिक कुशलता प्रकट गर्न पाइने छ । श्रृङ्गार सामाग्री आदिमा लगानीको पनि सम्भावना छ । आज यहाँलाई दुई नम्बर, सेतो रङ्गको प्रयोग र देवी बगलामुखी माँको भक्तिभावले सफलतामा थप बल दिनेछ ।

कुम्भ : आजको दिन अनुकूल परेको छ । दिन रमाइलो एवम् उमङ्गिलो र सौहार्दपूर्ण रहनेछ । कार्यक्षेत्रमा अनुकूल वातावरण बन्नेछ । हितैषी जनहरुसँगको भेटघाटले खुशी छाउनेछ । कामकार्यमा पनि व्यस्त हुन पाइनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको मेजमानी एवम् उपहार आदि मिल्ने पनि सम्भावना रहेको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा फाइदा उठाउन सक्नुहुनेछ । पद तथा जिम्मेवारी पनि थपिन सक्ने गोचरले संकेत गरिरहेको देखिन्छ । यहाँहरुको लागि आज एक अंक, रातो रङ्गको प्रयोग र कूलदेवताको श्रद्धाभक्ति तथा सेवा उपयुक्त रहनेछ ।

मीन : आजको दिन संघर्षकारक छ, खर्च बढ्ने तथा कार्यमा नजानिने गरी अबरोध आउन सक्नेछ् भने स्वजनबाटै विश्वासघात हुने सम्भावनालाई पनि नकार्न सकिन्न । कार्यक्षेत्रमा पनि अवमूल्यनजस्ता प्रतिकूलता पर्नसक्छ, विचलित नभए अन्तमा सफलता पनि मिल्नेछ । मानप्रतिष्ठामा ह्रास जस्ता प्रतिकूलताको सामना गर्नपर्ने भएकोले साहस र धैर्यता बढाउनु होला । स्वकर्ममा सकारात्मक चिन्तनका साथमा सद्प्रयासरत रहनाले केही लाभ भने गर्न सकिनेछ । अनावश्यक घुमफिरमा मन नदिएकै राम्रो हुनेछ । सैद्धान्तिक विचलन आउन नदिनु बुद्धिमानी हुनेछ ।

साइतः सूर्य वृश्चिक चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    उद्वेग बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     चर बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     लाभ बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    अमृत बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   काल बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      शुभ बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     रोग बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     उद्वेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ