arrow

रणेम क्षेत्रमा बाँदर आतङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
monkey.JPG

सोलुखुम्बु । बाँदर आतङ्कले सोलुखुम्बुका कृषक आजित बनेका छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक आजित बनेका हुन् । 

आफूहरूले घाम पानी नभनी लगाएको बालीबाट उत्पादन लिने समयमा बाँदरले खाएर सखाप पारेको कृषक नीरकुमार राईको गुनासो छ । उब्जनी भएका अन्नबाली उठाउन नपाउँदै खान थालेपछि बाँदर धपाउन गोठालो बस्नुपर्ने अवस्था आएको कृषक बताउँछन् ।  

जङ्गलबाट ठूलो सङ्ख्याका बाँदर हुल बाँधेर आउने भएकाले धपाउन समस्या हुने र एकैचोटिमा धेरैको खेतबारीमा फलेको अन्नबाली सखाप पार्ने गरेको दिप्लीका रत्नकुविर राईको दुःखेसो छ । 

कोशीवारि रहेको यो क्षेत्रलाई माप्य दूधकोशीको वाकुसँग जोड्न इंखु खोलामा पुल थापेसँगै वाकु जङ्गलको बाँदर दिप्ली क्षेत्रमा प्रवेश गरेको कृषकको भनाइ छ । वर्षभरि दुःख गरेर लगाएको बालीनालीमा बाँदरको आतङ्क बढ्न थालेसँगै खेतीयोग्य जमिन नै बाँझो राख्ने मनस्थितिमा कृषक पुगेका छन् । 

रोग किराको प्रकोपसँगै जङ्गली जीवजन्तुको आतङ्कले आजित बनेका कृषक उब्जनी भएको आधाभन्दा बढी लगानी रोग किरा र जङ्गली जीवजन्तुले नै सखाप पार्ने गरेको अर्का कृषक राजकुमारी राईले बताए । यो वर्ष मात्र नभई बर्सेनि यहाँका कृषकले बाँदर आतङ्क खेप्दै आएका छन् । 

विगतका वर्षमा बाँदर धपाउनका लागि भन्दै डिभिजन वन कार्यालय सोलुखुम्बुबाट यन्त्र वितरण गरिएको थियो । तर उक्त यन्त्र पड्काएर बाँदर धपाए पनि फेरि फर्केर आइहाल्ने भएकाले खासै प्रभावकारी नबनेको कृषकको भनाइ छ । 

थुलुङ दुधकोशी गाउँपालिका–८ का वडाध्यक्ष राजेश राईले कृषकको समस्या समाधानका लागि गाउँपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने र बाँदर आतङ्कबाट कृषकलाई छुट्कारा दिलाउन आफूले सक्दो प्रयास गर्ने प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ