arrow

प्रचण्ड र माधवबीच गम्भीर वार्ताः एमाले–माओवादी हिमचिमले ल्यायो नयाँ तरङ्ग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
prachanda-madhav-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । गएराति एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । 

मंसिर ४ गतेको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले थ्रेस होल्ड नकटाएपछि माओवादीसँग एकता गर्ने चर्चा चलिरहेको थियो । यो चर्चाकै क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष नेपालसँग बुधबार बिहान दुई घण्टा कुराकानी गरेका छन् ।

 ‘दुई अध्यक्षबीच आज बिहान नेपाल निवासमा दुई  घण्टा कुराकानी भएको छ। सरकार बनाउनेदेखि अहिलेको अध्यादेश विषयमासमेत कुराकानी भएको हो’, प्रचण्ड निवास स्रोतले भन्यो । तर माधव नेपालको सचिवालयले भने केही बताएको छैन । 

एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्कालै माओवादीसँग एकता नगर्ने बतारहेका छन् । उता माओवादीका नेताहरुले नेकपा एस पनि माओवादीको साथमा रहेको र कुनै बेला पार्टी एकताको चरणमा पुग्ने दाबी गर्दै आएका छन् । 

यही सन्दर्भलाई लिएर बुधबार बिहानै नेपालसँग कुराकानी गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका थिए । 

बिहान ७ बजेको हाराहारीमा खुमलटारबाट कोटेश्वर पुगेका हुन् । दुई अध्यक्षबीच बिहान सवा ७ बजेदेखि झण्डै ९ बजेसम्म अध्यादेश र सरकार गठनबारे कुराकानी भएको थियो । 

त्यस्तै एमाले र माओवादीबीच पनि छलफल तीव्र भइरहेको छ । एमाले उच्च स्रोतका अनुसार मंगलबार राति माओवादीका महासचिव देव गुरुङले एमाले अध्यक्षलाई भेटेका थिए ।

उच्च स्रोतका अनुसार केपी ओली सरकारबाट बाहिर रहन सकिरहेका छैनन् । उनले पहिलो कार्यकाल प्रचण्डलाई दिएर भए पनि एमाले–माओवादी मिलेर सरकार बनाउनेमा कसरत गरिरहेको बुझिएको छ । 

यसअघि ओली आफू प्रधानमन्त्री हुने तर राष्ट्रपति र सभामुख माओवादीलाई दिन सकिनेमा सहमत रहेको बताएको उच्च स्रोत बताउँछ । तर प्रचण्डले पटक पटक धोका पाएको भन्दै पहिले आफू प्रधानमन्त्री हुने र अन्य पद एमालेलाई नै दिन सकिनेतर्फ पनि संकेत गरेको बुझिएको छ । 

सत्ता गठबन्धन मिलेर नयाँ सरकार बनाउने र यो गठबन्धनलाई अगाडि बढाउने भन्दै नेताहरु लागिरहेको देखिए पनि आन्तरिक रुपमा प्रचण्डमा छट्पटी देखिएको छ ।

त्यो छटपटीलाई केपी ओलीले पनि राम्रो मलजल गरेको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ