arrow

फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, अर्जेन्टिनासँग खेल्ने

तेस्रो पटक विश्वकपको उपाधिका लागि भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
france-argentina.jpg

काठमाडौं । विश्वकप फुटबलको साबिक विजेता फ्रान्स कतार विश्वकपको फाइनलमा पुगेको छ । कतारमा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्‍यो भने खेलको दोस्रो हाफमा एक गोल थप्यो । खेलमा पहिलो गोल फ्रान्सका डिफेन्डर थिओ हर्नान्डेजले ५ औँ मिनेटमा गोल गरे । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सदुपयोग गर्दै गोल गरेका थिए ।   
त्यस्तै दोस्रो गोल रेन्डल कोलो मुआनीले ७९ औँ मिनेटमा गरेका थिए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट पनि नबित्दै गोल गर्न सफल भए । उनी ७९ औँ मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । 

योसँगै अफ्रिकी टोली मोरक्कोको पहिलो पटक फाइनल पुग्ने सपना चकनाचुर भएको छ । सेमिफाइनल पुग्ने मोरक्को पहिलो अफ्रिकी टोली पनि हो । 

अब फिफा विश्वकप २०२२ को फाइनल खेल १८ डिसेम्बरमा फ्रान्स र अर्जेन्टिनाबीच हुनेछ । फ्रान्सले तेस्रो पटक विश्वकप उपाधि जित्नको लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

खेल जित्दै फ्रान्सेली टोली लगातार दोस्रो पटक र समग्रमा चौथो पटक फाइनलमा प्रवेश गरेको छ । यसअघि फ्रान्सले सन् १९९८ र २०१८ मा दुई पटक उपाधि जितेर तीन पटक फाइनल खेलेको थियो । जहाँ २००६ मा उपविजेता बनेको छ । 

यता लियोनल मेस्सी कप्तान रहेका अर्जेन्टिनाले छैटौँ पटक फाइनल खेल्दै छ । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको थियो । ३५ वर्षीय मेस्सीको यो अन्तिम विश्वकप हो ।

अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधिका लागि फ्रान्ससँग भिड्दै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ