- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा अहिले तेस्रो स्थानका लागि भिडन्त भइरहेको छ । सेमिफाइनलमा पराजित भएका दुई घाइते बाघहरु तेस्रो स्थानका लागि भिडन्त गरिरहेका हुन् ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिडिरहेका छन् । मध्यान्तरसम्म क्रोएसियाले २–१ ले अग्रता लिएको छ । खेलको ९ मिनेटमै दु्वै टिमले एक एक गोल गरेका थिए ।
सातौं मिनेटमा क्रोएसियाका जोस्को भार्दियोलले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटमै अच्राफ दारीले गोल गर्दै मोरक्कोलाई बराबरीमा ल्याए ।
४२ औं मिनेटमा मिस्लाभ ओर्सिकले गोल गर्दै क्रोएसियालाई २–१ ले अग्रता दिलाएका छन् ।
पहिलो पटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो ।
यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो । पहिलो पटक सेमिफाइनलमा पुगेको मोरक्कोले तेस्रो हुँदा अर्को कीर्तिमान बनाउने छ । यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
दुवै समूह चरणमा एकै समूहमा रहेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएकाले पनि आजको खेलमा को हावी हुन्छ भन्ने अनुमान गर्न कठिन छ ।
कतार विश्वकपको फाइनल खेल भोलि हुनेछ । फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । फ्रान्स चौथो तथा अर्जेन्टिना छैटौं पटक फाइनलमा पुगेको हो ।
दुवै टिमले दुई दुई पटक उपाधि जितिसकेका छन् । जुन टिमले जिते पनि उपाधिमाथि ह्याट्रिक गर्नेछन् । खेल राति ८ः४५ बजे शुरु हुनेछ ।