arrow

काठमाडौंमा गुन्जियो गजमेरको ‘मोहनी मादलको’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
mohani-madalko.jpg

काठमाडौं । संगीतज्ञ रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’को सार्वजनिक भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार पुस्तक लोकार्पण भएको हो । पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ ।

गजमेरका समकालीन पिटर जे कार्थकी पत्नी रञ्जना कार्थक, नोर्बु योञ्जनकी छोरी सुजाता, गजमेरका छोराछोरी सत्यजित, प्रिती लगायतले पुस्तक विमोचन गरे ।

कार्यक्रममा गीतकार नगेन्द्र थापाले प्रवासी नेपालीको गीत लेखेर शरण प्रधानलाई संगीतका लागि अनुरोध गर्दा त्यही समूहमा गजमेरलाई भेटेको सम्झिए । १९६३ देखि गजमेरसँगको संगत सुरु भएको भन्दै उनले ६० को दशक संगीतको उत्कर्षको समय रहेको बताए ।

अर्का गीतकार दिनेश अधिकारीले लक्ष्मीप्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्रीलाई संगीतबद्ध गरेर गजमेरले जोखिम मोलेको बताए । ‘चर्चित सिर्जना चलाउनु जोखिम हुन्छ, त्यो उहाँले जोखिम मोल्नुभयो र राम्रो सिर्जना दिनुभयो,’ उनले भने, ‘त्यसपछि म उहाँको फ्यान भएँ ।’ गजमेरकै कारण आफूले ५ वटा गीतमा धुनका आधारमा गीत तयार पारेको अधिकारीले सुनाए । ‘संगीतमा दिएको योगदानका कारण उहाँको आयु लामो हुने नै छ,’ उनले भने, ‘यो आत्मकथाले उहाँलाई अझ लामो आयु दिएको छ ।’

संगीतकार गजमेरले आफूले नेपाल र नेपालीका लागि संगीतका के कर्म गरे भन्ने प्रमाण पुस्तकमा रहेको बताए । काठमाडौंमा सुरुवाती दिनमा निकै संघर्ष गरेको स्मरण गर्दै उनले आफूलाई सहयोग गर्ने समकालीनहरुलाई सम्झिए । आफू अहिले नेपालमा आएर नेपालीमा कुरा गर्न पाएको भन्दै उनले निकै खुसी व्यक्त गरे ।

पुस्तकका लेखक शेखर खरेलले गजमेरको समयको जस्तो सांगीतिक समाज आजकाल नपाइने भन्दै उनको योगदानबारे आफ्ना भनाइ राखे । ‘हामी कुनै रुखलाई सिंगा रुखमात्र देख्छौं,’ उनले भने, ‘यो पुस्तकले रुखको जरा पनि देखाउने काम गरेको छ ।’

कार्यक्रममा गजमेरद्वारा संगीतबद्ध गीतहरु विभिन्न कलाकारले प्रस्तुत गरेका थिए । मोहनी लाग्ला है , तिम्रो मनमा लुकेको कुरा, चिसोचिसो हावामा, वीरताको चिनो, भुलिगए सम्झनालाई लगायत गीतले प्रतिष्ठानको डबली गुन्जायमान बनेको थियो I बाध्य वाधन तर्फ सुरज प्रधान, विक्रम कार्की, रुपेश सिङ, जे पि जोशी, भवन गन्धर्ब,  संजीव मैनाली थिए । गायन तर्फ क्रमश; बिपिन, कर्म ग्याल्जेन, कमल किरण, नवीन गजमेर, बानीका प्रधान, शीला, जीना रसैली र टिका प्रासाई थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ