मतदान शुरु हुन सकेन, मोबाइल भित्र लैजान पाउनु पर्ने देउवा पक्षको अडानमा गगन पक्षको विरोध
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
621
Shares
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको उम्मेदवारका लागि बिहान ८ बजेदेखि शुरु हुनुपर्ने मतदान अहिलेसम्म हुन सकेको छैन । निर्वाचन समितिले ८ देखि १० बजेसम्मको समय तोकेको भए पनि सभापति शेरबहादुर देउवा पक्षका सांसदहरुले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुन लागेको मतदानका लागि मोबाइल लैजान पाउनु पर्ने माग गरेपछि मतदान शुरु हुन नसकेको हो ।
मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा मतदान शुरु हुन नसकेको हो । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुषाल मोबाइल लैजान पाउनु पर्ने पक्षमा छन् । तर संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा छन् । जसका कारण मतदान शुरु हुन नसकेको हो ।
कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । ४५ मत ल्याउने उम्मेदवारले जित हासिल गर्नेछन् ।
मतदान सकिएसँगै तत्कालै गणना गरी विजेता घोषित गरिने छ । सभापति देउवा र महामन्त्री गगनकुमार थापाबीच टक्कर भइरहेको छ ।