arrow

श्रीविष्णुको प्रिय दिन कस्तो होला ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ पुष ७ बिहिबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ पुस ७ गते बिहीबार, इस्वीसंवत डिसेम्वर २२ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषकृष्णपक्षको चतुर्दशी तिथि रहनेछ ।

नक्षत्रमा ज्येष्ठा, विष्कुम्भादि योगमा शूल, करणमा भद्रा, आनन्दादि योगमा काल रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५२ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१२ बजे हुनेछ ।

आजको राशिफल

मेष : आजको दिन ग्रहगोचरको स्थिति सामान्य प्रतिकूल प्रतित भइरहेकोले व्यवहारमा सावधानी अप्नाउन जरुरी देखिन्छ । जरुरी विषयमा मात्रै चासो राख्नु बुद्धिमानी हनुेछ । आवश्यकभन्दा बढी वाणीविलासले वादविवाद सृजना गर्नसक्ने भएकोले होसियारी पुर्याउनु होला । स्वास्थ्यमा पनि मन्दि आउन सक्ने भएकोले खानपानमा विचार पुर्याउन जरुरी देखिन्छ । समस्या आएपनि धैर्यतालाई पालना गर्नाले कष्ट निवारणमा मद्दत हुनेछ । चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ । आमा वा आमासमानकी मातृशक्तिको आज्ञा वा आर्शिवाद लिनु र अढैया शनिश्चरको दुष्प्रभाव निवारणको लागि शनिमृत्युञ्जयको पाठ गर्नु फापसिद्ध हुनेछ ।

वृष : आजको दिन आँटिलो एवम् साहसिलो हुँदाहुँदै पनि केही अबरोधको सामना गर्नपर्ने देखिएको छ । त्यसको बाबजुतपनि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने जमर्को हुनेछ । विशेष काम बनाउन सूर्यदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु मनासिव हुनेछ । कामकार्यमा रुचि बढ्ने छ । आज टाढाको यात्रा गर्नुपनि उचित हुँदैन । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ । प्रतिस्पर्धा जन्य काममा पनि अग्रता हासिल गर्न सकिने छ । आज यहाँलाई सूर्यदेवको स्तुति शुभ हुनेछ भने तीन अंक र हरियो रङ्ग फापसिद्ध रहने छ ।

मिथुन : आजको दिन बोलेको विषयमा खण्डन आएता पनि आफूभन्दा ठूला मान्छेबाट समर्थन वा सहानुभूति आउनसक्ने भएकोले सफाइ मिल्नेछ । तथापि होसियारी पूर्वक बोलीव्यवहार भने गर्नु पर्नेछ । पेशा तथा व्यवसायमा आकस्मिक चहलपहल बढ्ने र लाभ प्राप्त हुनेछ । अन्तिममा आलोचनात्मक सम्बन्ध गाँस्दै आएका स्वजनहरु पनि आज तपाईप्रति प्रभावित हुनेछन् । विपरित खानपान तथा संगतमा पर्नसकिने र केही धनोन्माद् वा धनापव्ययको सम्भावनालाई भने नकार्न सकिन्न । होस एवं संयमपूर्वक व्यवहारिक भएर अघि बढ्नाले केही राम्रो उपलब्धि गर्न सकिने छ । परोपकार एवं संघसंस्था आदिको औपचारिक कार्यक्रममा सहभागी हुनपाइने सम्भावना छ ।

कर्कट : आजको दिन गोचरग्रहको केही बाधक अबस्था हुँदाहुँदै पनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशियालीले युक्त रहनेछ । मनपर्ने स्वादिष्ट भोजनद्वारा स्वागत्सत्कार मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कसैबाट उपाहार पनि मिल्नसक्ने सम्भावना छ । पारिवारिक सौहार्द वातावरणको निर्माण हुनेछ । नयाँकाम वा शेयर आदिको लगानीको प्रस्ताव आउनसक्ने छ । नोकरी आदि पेशागत कामकार्यमा लाभ एवम् सफलता प्राप्त हुनेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको उपयोग र ग्रहबाधा निवारणको लागि हनुमानदेवको उपाशना गर्नु शुभप्रद हुनेछ ।

सिंह : आजको दिन आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्ने मानसिक तयारीमा बस्नु उपयुक्त हुनेछ । प्रतिष्ठामा ह्रास भएको महसूस हुनसक्ने छ भने शंका एवम् मानसिक भए पैदा हुन सक्नेछ । कष्टकर दिनचर्याको अनुभूति भएपनि धैर्यधारण गर्नाले खतिक्षतिबाट जोगिन सकिने र आफ्नो कार्यमा लगनशीलतापूर्वक लाग्नाले केही हद्सम्म उपलब्धि हासिल गर्न सकिने छ । दीर्घ रोगीले स्वास्थ्यमा अल्लि बढी ख्याल पुर्याउनु पर्ला । आज यहाँलाई लागि तीन अंक, पहेंलो रङ्गको प्रयोग र अढैया शनिदोष निवारणका लागि त्याग वा दानको व्यवहार गर्नु उपयुक्त हुनेछ ।

कन्या : आजको दिन पुरुषार्थ बृद्धि हुने खालको रहेको देखिन्छ । मान्छेहरुबाट प्रसंशा मिल्नेछ भने सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता बढ्ने र आर्थिक लाभ गर्न सकिने छ । तथापि परिश्रमविनाको धर्नाजर्न तर्फपनि मन आकर्षित हुन सक्ने छ, जसले नैतिकतामा प्रश्न चिह्न लगाउनसक्ने छ ख्याल गर्नुहोला । विद्यार्थीहरु अध्ययनमा सफल भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुर सम्बन्ध स्थापित हुनेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग तथा दीनदुखीको सेवा फापकर हुनेछ ।

तुला : आजको दिन आफ्नै आत्मबल कमजोर रहन सक्ने सम्भावनाको बाबजुत पनि मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुनसक्ने छ । व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने राजनीतिकर्मी एवम् समाजसेवीको लागि पनि सकारात्मक दिन रहनेछ । उच्च ओहोदाका व्यक्तित्वसंग भेटघाट हुनसकिने र आड भरोसाजन्य आश्वासन मिल्नसक्ने छ । राजकाज तथा जागिर आदिमा पनि सहज वातावरण बन्नेछ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आत्मबल बढाउन सूर्यदेवको स्तुति एवम् श्रद्धाभक्ति अझ प्रभावकारी हुनेछ ।

वृश्चिक : आजको दिन कमजोरी खोज्नेहरु सक्रिय देखिने छन् । आफूभन्दा माथिल्लो निकायलाई सिकाय पुग्ने हुनाले कामक्षेत्रमा केही अपयश पनि व्यहोर्न पर्नसक्ने छ । केही असफल चक्रब्यूहको शिकार भइनसक्ने छ तर, आत्मबल नगिराइ दृढताको साथमा आफ्नो कर्तव्यबाट विचलन नभएमा अन्ततोगत्त्वा परिणाम आफ्नो पक्षमा ल्याउनसकिने छ । धार्मिक चिन्तन र सदाचरणको अभ्यासले जयतर्फ लैजाने छ । व्यापार व्यवसायको क्षेत्रमा पनि आकस्मिक लाभ हुनसक्ने छ । नौं अङ्क, पहेंलो रातो तथा सेतो रङ्गका वस्तुहरुको उपयोग आज यहाँको लागि फापसिद्ध हुनेछ भने गुरुजनको आर्शिवाद लिनु थप सफलताकर हुनेछ ।

धनु : आजको दिन सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । साढेसाती शनिको कारणले विभिन्न तनाब व्यहोर्न परिरहेको यहाँलाई सोको निवारणको लागि शनिदेवको विशेष उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । भने माँ इन्द्रायणीको भक्तिभावले पनि धेरै हद्सम्म राहत मिल्नेछ ।

मकर : आजको दिन आश्वासन मिल्ने तर गरी नपुर्याउनेको फन्दामा परिनसक्ने छ । गोचरको केही विपरितताको कारण प्राप्त अवसरलाई सदुपयोग गर्न अल्लि नसकिने हो कि भन्ने देखिएको छ । यद्यपि कसैकसैलाई कपट प्रेमको सम्भावना रहेको छ, होसियारी हुनुपर्ला तथापि धेरैलाई दाम्पत्यजीवन तथा प्रेमसम्बन्धमा सुधार आउने छ । भ्रमणको अभिलाषीहरुलाई पनि दिन सकारात्मक रहेको छ परन्तु चोटपटकको संकेत देखिएको छ, होसियारीको जरुरी हुनेछ । आज तपाईले अपेक्षित कार्यलाई पूर्ण गर्न भगवान भैरवदेवको स्तुति गर्नु फलप्रद हुनेछ ।

कुम्भ : आजको दिन आँट ठूलै गराउने तर कामपूर्ण हुन ग्रहको केही अबरोध देखिएको छ । तथापि सामान्यतया व्यवसायिक कामबाट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने र कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रसरता लिनसकिने छ र आत्मबल पनि बढ्नेछ । स्वास्थ्यमा आरोग्यता र कान्तिमा बृद्धि हुनेछ भने मानसिक दृढता बढ्नेछ । मुख्य एवं इष्टकार्यमा आउने बिघ्नताको निवारणको लागि आज यहाँले भगवान सूर्यनारायणको ध्यान भक्ति एवं स्तुति गर्नु फापकर हुनेछ ।

मीन : आजको दिन आज ज्ञानक्षमताको प्रयोग गर्ने अवसरले युक्त छ । आज तपाईको विद्याबुद्धिको मान्छेहरुले प्रशंसा पनि गर्ने छन् । विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुन जाँदा सन्तोष प्राप्त हुनेछ । व्यवसायिक पक्षपनि मजबुत बनेर आउनेछ । पाँच अंक, रातो रङ्ग आज यहाँलाई फाप सिद्ध हुनेछ । शनिदेवको सेवा आराधना गर्नु हितकर हुनेछ ।

साइतः सूर्य धनु चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    शुभ बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     रोग बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     उद्वेग बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    चर बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   लाभ बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      अमृत बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     काल बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ