arrow

महामायाको लीला

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ पुष ७ बिहिबार
bhuwaneshori.jpg

एक पटक भगवती भुवनेश्वरीले ब्रह्मा, विष्णु, दुवै देवतालाई साकार रूपमा दर्शन दिनुभयो । उहाँले यसरी दर्शन दिने वेलामा शिवजी पनि अकस्मात् आइपुग्नुभयो र तीनै जनाले उहाँको त्यस रूपको दर्शन पाउनु भयो । भगवतीले त्यहीँ एउटै रथ तयार गर्नुभयो । उहाँले तीनै देवतालाई त्यो दिव्य रथ चढेर आफ्नो लोकमा आउनु भनेर अह्राउनु भयो ।

भगवतीको आदेश मान्दै ती त्रिदेव नै दिव्य रथमा चढ्नुभयो । भगवतीको मणिव्दिपको यात्रामा जाँदा उहाँहरूले अनेक वस्तुहरू अवलोकन गर्दै त्यहाँ गएर ओर्लनु भयो । भगवतीले उहाँहरूको स्वागतका लागि दिव्य दासीहरूलाई अह्राउनु भएको थियो । यसरी महामायाको सेविकाहरूले उहाँहरूलाई स्वागत गरेर भगवतीको समीपमा लैजाँदै गर्दा तीनै देवता स्त्री रूपमा परिणत हुनुभयो । भगवतीको दर्शन पाएपछि भने त्रिदेव नै फेरि आफ्नो रूपमा फर्कनु भयो । 

भगवतीको रूप अलौकिक थियो । सूर्यको तेज भन्दा पनि उज्यालो उहाँको मुहार धपक्क बलेको थियो । उहाँको हजारौँ हात थियो । उहाँले त्रिदेवलाई नै सम्बोधन गरेर भन्नुभयो 'हे त्रिदेव हो यो जगत् मेरै आज्ञाले चलेको छ । यहाँ जे हुन्छ, त्यो सब मेरै कृपाले मात्र हुने हो, मेरो कृपा नभए एउटा घाँस पनि यहाँ हल्लन सक्तैन' भन्दै आफ्नो दिव्य रूपको दर्शन दिनुभयो । 

उहाँको यस्तो दिव्यरुप देखेपछि त्रिदेवले अव आफूहरूले के कार्य गर्नुपर्ने हो, त्यसको आज्ञा पाउँ भन्नुभयो । उहाँहरूको आग्रह अनुसार भगवतीले सृष्टिको काम शुरु गर्नु भन्ने आज्ञा दिनुभयो । उहाँले आफू शक्तिको रूपमा ब्रह्मालाई सरस्वती, विष्णुलाई लक्ष्मी र महेश्वरलाई पार्वती सुम्पने बताउनुभयो । 

उहाँले यसरी प्रत्येकलाई शक्ति स्वरुपा आफ्नो रूप सुम्पनु भएपछि तीनै जना आफ्ना पत्नी सहित त्यहाँबाट प्रस्थान गर्नुभयो र आ आफ्नो लोकमा जानु भयो ।  (सङ्कलित)

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् । श्रीशिवपुरी बाबाका उपदेशहरु संग्रहित स्वधर्मको परिमार्जित चौथो संस्करण उपलब्ध छ। )
इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ