कोरोनाको सब भेरियन्ट बीएफ–७ बाट विश्व त्रसित, नेपालमा नभेटिए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ ७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गरेको हो ।
पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमूनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमूनामा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भए पनि बीएफ ७ भने नभेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ‘विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेका छन् । विशेषतः हाम्रै छिमेकी देशहरुमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ । नयाँ भेरियन्ट फैलिदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दूरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ । यता बिहीबार नेपालमा जम्मा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ रहेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भएको छ । अहिलेसम्म परीक्षण गराएकामध्ये पीसीआरबाट १० लाख ९६२ संक्रमित पाइएका छन् ।