- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेससँग पाँच वर्षे सरकारको आधा आधा कार्यकालको शुरुको प्रधानमन्त्री माग गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै समर्थन र प्रस्तावमा प्रधानमन्त्री बनाउने प्रयास थालिएको छ ।
एमाले र माओवादीका नेताहरुले ओली र प्रचण्डलाई छुट्टै भेट गराएर यो विषयलाई औपचारिकता दिने प्रयास थालिएको स्रोतको दाबी छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेर चुनौती दिएको छ ।
बिहीबार मात्रै ओली र प्रचण्डबीच शीतलनिवासमा कुराकानी भएको थियो । सो विषयलाई लिएर प्रचण्डले पदाधिकारीको बैठकमा ओलीले मिलेर जाऔँ भन्ने प्रस्ताव गरेको बताएका थिए ।
‘तपाईं हामी मिलेर जाऔँ भने’, ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले पदाधिकारी बैठकमा भनेका थिए । उता एमाले भने जसरी पनि गठबन्धन भत्काउनुपर्छ भनेर लागिरहेका छन् ।
नेकपा एमालेको सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । ओली निवासमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसरी पनि गठबन्धन भत्काउने र सरकार बनाउने विषयमा संवाद गर्ने निर्णय गरेको हो ।
नेकपा विघटन भएपछि एकले अर्कोलाई तल्लो तहसम्म झरेर लगाउने आरोप, गालीगलौज गरेका कारण यी दुई नेताहरु आपसमा बोलचाल नै बन्द गरेर बसेका थिए ।
तर दुवैले अहिले आत्मसमीक्षा गर्ने भन्दै एक अर्कासँग नजिक हुन खोजिरहेका छन् । निर्वाचन सकिए लगत्तै सरकार बनाउने र त्यसबारेमा आन्तरिक तयारीमा जुटेका गठबन्धन दलहरुले माओवादीकै नेतृत्वमा सरकार बन्छ भनेर भन्न सकेका छैनन् ।
संसदमा ३२ सिट जितेको माओवादी केन्द्र सरकार बनाउनका लागि आवश्यक ‘विचौलिया’को भूमिकामा देखिएको छ । जसले गर्दा कांग्रेस र एमाले दुवै पार्टीले आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरेका छन् ।
जसअन्तर्गत अहिले एमालेसँगको संवाद निकै अघि बढेको जानकार स्रोतको दाबी छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेपछि माओवादी केही हदसम्म कांग्रेससँग शंका गरिरहेको भए पनि गठबन्धन छाडिहाल्छु भन्न सकेको छैन । सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई त्यसको ब्याचका रुपमा अहिले आफूले प्रधानमन्त्री पाउने भन्दै बार्गेनिङ गरेको र त्यो नपाए अहिलेबाटै गठबन्धनमा ब्रेक अप ल्याउने एकसरो चुनौती दिएको स्रोतको दाबी छ ।
‘माओवादी केन्द्रले निर्वाचपछि बन्ने सरकारको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गर्न पाउनु पर्ने माग गरेको छ । तर त्यस्तो माहोल बनेको मैले बुझेको छैन’, बिहीबारको पदाधिकारी बैठकपछि माओवादीका एक पदाधिकारीले भने ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले आधा कार्यकालको शुरुमै प्रधानमन्त्री पाउनुपर्ने प्रस्ताव गरिसकेका छन् ।
देउवाले कांग्रेस संसदीय दलको नेता चयन भएपछि मात्रै त्यस विषयमा छलफल गर्ने भनेका थिए । बुधबार साँझ र बिहीबार दुई नेताहरुबीच छलफल भए पनि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेकाले प्रचण्ड झन् सशंकित बनेर एमालेसँग लहसिएका छन् ।
प्रचण्डले विहिबार पनि आफ्ना पार्टीका नेताहरुसँग आधा कार्यकालको शुरुको चरणमा आफू प्रधानमन्त्री हुनेमा शंका रहेको अभिव्यक्ति व्यक्त गरेका थिए ।
अन्य दलका नेताहरुसँग पनि प्रचण्डले प्रधानमन्त्रीको विषयमा अहिले कुनै पनि कुराको टुंगो लागिनसकेको बताएर आफू प्रधानमन्त्री बन्नेमा आशंका व्यक्त गरिरहेका छन् ।
प्रचण्डले यस्तो दोधारे मनिस्थितिले खुमलटार–बालवाटार गर्दा त्यसको फाइदा एमालेले उठाउने अवस्था आएको जानकारहरु दाबी गर्छन् ।