arrow

तनहुँमा शहीद चन्द्रबहादुर नेपालीको शालिक अनावरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
Chandra bd nepali.jpg

तनहुँ । व्यास नगरपालिका वडा नं। १ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको शहीद चन्द्रबहादुर नेपालीको अर्धकदको शालिकको आज अनावरण गरिएको छ । 

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले शहीद नेपाली छात्रावासको उद्घाटनका साथै शालिकको अनावरण गरी माल्यापर्ण गरेका हुन् । विसं २००७ को जनक्रान्तिका क्रममा राणा शासनका विरुद्ध आन्दोलन गरेका उनलाई २००७ साल माघ १ गते तनहुँ ब्यास-११ बन्दीपुरमा गोली प्रहार गरी हत्या गरिएको थियो । 

 उनको स्मृतिमा क्याम्पस परिसरमा शालिक निर्माण गरिएको हो । गण्डकी प्रदेशको रु पाँच लाख आर्थिक सहयोगमा शहीद नेपालीको शालिक निर्माण गरिएको हो । 

यसअघि क्याम्पस परिसरमा निर्माण गरिएको शहीद नेपाली छात्राबास सञ्चालनमा ल्याएसँगै ग्रामीण क्षेत्रका दूरदराजका दलित, गरीब, विपन्न, छात्राले छात्राबासमा बसेर सहजरुपमा पढ्न पाउँदा खुशी लागेको उनले बताए । 

हाल उक्त छात्राबासमा तनहुँ, गोरखा, लमजुङलगायतका क्षेत्रबाट दलित, गरीब, विपन्न गरी ३२ छात्रा बसेर पठनपाठन गर्दै आएको छात्राबासका वार्डेन मिना श्रेष्ठले जानकारी दिए । 

छात्राबासमा बस्नका लागि छात्राहरुको माग अत्यधिक रहे पनि ठाउँको अभावमा राख्न नसकिएको उनले बताए ।

छात्राबासको पहिलो तला निर्माण सम्पन्न गरी छात्रालाई राखिएको छ भने दोस्रो तलाको ढलान भएकाले छिट्टै सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । दोस्रो तलाको निर्माण सम्पन्न भएपछि पुनःछात्राबासमा छात्राको संख्या वृद्धि गर्न सकिने क्याम्पस प्रमुख महाप्रसाद हड्खलले जानकारी दिए ।  

विसं २०५८ मा दलित छात्राबासको अवधारणा तत्कालीन चितवनका सांसद ऋषिबाबु परियारले रु एक लाख ५० हजार आर्थिक सहयोग गरेपछि भवन निर्माणले गति लिएको शहीद चन्द्र नेपाली छात्राबास सञ्चालक समितिका संस्थापक सचिव केशबहादुर सुनारले जानकारी दिए । 

भवन निर्माणका लागि सोही वडास्थित निर्मल माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रमेशचन्द्र हड्खलेले दुई रोपनी चार आना दुई दाम जग्गा निःशुल्क उपलब्ध गराएका थिए । 

भवन निर्माणका लागि गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री विक र प्रदेश सांसद सरिता गुरुङको पहलमा रु ३० लाख विनियोजन भइसकेको छ । गत आवमा गण्डकी प्रदेशबाट रु १५ लाख विनियोजन गरिएको थियो ।

यसैगरी तत्कालीन भौतिक तथा सहरी विकास मन्त्रालयबाट रु १७ लाख पचास हजार, तत्कालीन जिल्ला विकास समितिबाट रु १५ लाख, गण्डकी प्रदेशका निवर्तमान आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानबाट रु १० लाख, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विकास कोषबाट रु आठ लाख, व्यास नगरपालिका, विभिन्न सङ्घसंस्था र अन्य व्यक्तिबाट सहयोग प्राप्त भएको थियो । 

छात्राबास भवन निर्माणका लागि कूल रु एक करोड २५ लाख लागत रहेको र उक्त रकम एकैचोटी जुटाउन नसक्दा पहलकदमी थालेको २१ वर्षपछि छात्राबासको उद्घाटन गर्न सफल भएको शहीद चन्द्र नेपाली छात्राबास व्यवस्थापन समिति आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए ।



नयाँ