arrow

शनिदेवको प्रिय दिनमा राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ पुष ९ शनिबार
rashifal-horoscope-2.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ पुस ९ गते शनिबार, इस्वीसंवत डिसेम्वर २४ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषकृष्णपक्षको अमावश्य तिथि रहनेछ ।

नक्षत्रमा मूल विष्कुम्भादि योगमा गण्ड, करणमा नाग, आनन्दादि योगमा स्थिर रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५२ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१३ बजे हुनेछ । आज तोल लोसार ।

आजको राशिफल

मेष : आजको दिन विषयान्तरबाट फाइदा लिनसकिने खालको छ । तसर्थ वैकल्पिक माध्यम अपनाउनु बुद्धिमानी हुनेछ । गाम्भीर्यता धारण गर्न सकेको खण्डमा विद्यार्थी वर्गले ज्ञानात्मक प्रगति गर्न सकिने छ । बैठक आदिमा जरुरी विषयमा मात्रै प्रवेश गरेको राम्रो हुनेछ अन्यथा उठेको प्रसङ्गलाई बिट मार्न कठिन पर्न सक्ने छ, ख्याल गर्नुहोला । आत्मप्रसंशाको मनोभाव बढ्न सक्ने र दोस्रोपक्षबाट सो कुराको निगरानी हुन सक्ने कुराप्रति पनि चनाखो हुन जरुरी छ । पराईको निन्दा चर्चामा भुल्दा स्वकार्य अधुरो रहन सक्नेतर्फ पनि ख्याल पुर्याउनुहोला । आज यहाँको लागि पाँच अंक, रातो रङ्गको प्रयोग र शिवाराधना गर्नाले शुभ हुनेछ ।

वृष : आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नुपर्ने छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइनसक्ने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले बैठक आदिमा नया विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्न सकिएला । गौरीभगवतीको श्रद्धाभक्ति एवं स्तुतिको साथमा आमा वा आमासमानकी मातृशक्तिको आशिर्वाद आज तपाईको लागि उपयुक्त हुनेछ ।

मिथुन : आजको दिन अनुकूल नै मान्न सकिन्छ तथापि मुख्य काममा ग्रहको केही अबरोध भने आनउ सक्ने देखिएको छ । सामान्य कामकार्य भने ठिकै रुपमा चल्ने छन् । शारीरिक उर्जामा बृद्धि हुने तथा स्वास्थ्यमा सुधार आउनेछ । रोकिएर रहेका कामहरु अघि बढ्ने छन् भने नयाँ कामको विषयमा पनि विचार विमर्श हुनसक्ने छ । खेलाडीहरुको लागि पनि समय उपयुक्त देखिएको छ भने अन्य प्रतिस्पर्धी काममा पनि अग्रता हासिल गर्न सकिनेछ । स्वजनहरुबाट पनि साथ एवम् सहयोग पाउन सकिनेछ । भैरवदेवको श्रद्धाभक्तिले महत्त्वपूर्ण काम सम्पादन गर्न मद्दत गर्नेछ ।

कर्कट : आजको दिन भलै शङ्काको बाबजुत पनि दोस्रोपक्षलाई एकक्षणलाई रिझाउन सकिए पनि त्यसकै कारण पछि झण्झट आइपर्नसक्ने छ । बाध्यतामा पारेर कसैलाई कर गर्दा आफूलाई पनि त्यसले पछि बाध्यतामा पार्नसक्ने छ ख्याल गर्नुपर्ला । वाणीमा कडापनको विकास हुने र त्यसले पनि तपाईँको प्रतिष्ठामा आँच ल्याउन सक्नेछ । सम्पत्ति दुरूपयोगको संभावनालाई पनि नकार्न सकिन्न । विपरित खानपानको संगतमा पर्नसकिने पनि सम्भावना देखिएको छ । राम्रोसँग समय र मानसिक एवं भौतिक मेहनत दिनसके पेशा तथा व्यवसायबाटै सन्तोषप्रद उपलब्धि प्राप्त हुनेछ । दिनको सदुपयोग गर्नुहोला ।

सिंह : आजको दिन अनुकूल एवं गोचरको स्थितिमा सुधार आएको रहेको छ । मान प्रतिष्ठामा बृद्धि हुने, व्यापार व्यवसायमा बढोत्तरी हुनगइ राम्रो धनलाभ हुने एवं भौतिक सुख शान्ति र प्रशंसा पनि प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नेछ, रोकिएर रहेको कार्य पूर्णताको लागि दृढ भएर अगाडि बढ्नु उचित हुनेछ । सामाजिक जिम्मेवारी थपिने छ भने मनोरञ्जनात्मक कार्यमा पनि सरिक हुनपाइने छ । लगानीको प्रस्ताव आउन सक्ने सम्भावना पनि देखिन्छ । विवाह योग्य युवायुवतीको लागि वैवाहिक सम्बन्धको विषयमा चर्चा चल्नसक्ने छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग र भगवान शिवको आराधना पूण्य हुनेछ ।

कन्या : आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ । साथै आज यहाँले ग्रहको दुष्प्रभावलाई न्यूनिकरण गर्न भगवान शिवको दर्शन भक्ति गर्न सक्नुहुनेछ ।

तुला : आजको दिन अनुकूल देखिएको छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने तथा परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिन सकिने छ । प्रेम वा विवाहको प्रस्ताव आउनसक्ने छ । समर्थक तथा सहयोगी बढ्ने र प्रशंसा पनि मिल्ने छ । कर्मक्षेत्रमा सफलता हातपार्न सकिने छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने गौरीशङ्कंर भगवानको श्रद्धाभक्तिले थप सफलता मिल्नेछ ।

वृश्चिक : आजको दिन पूर्ण सफलता मिल्न अल्लि कठिन पर्ने भएपनि बाहिरी तथा देखावटी रुपमा मानसान बढ्ने र केही लाभ एवम् सफल पनि हुनेछ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहज वातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचार-विमर्श हुन सक्नेछ भने भविष्यको लागि आश्वासन पनि मिल्न सक्ने छ । आशा गरेकै जति नभएपनि औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्न सक्ने छ । सफलताको भित्री अबरोध हटाउन आज यहाँले भैरवदेवको श्रद्धाभक्ति गर्नु उपयुक्त हुनेछ ।

धनु : आजको दिन आफूभन्दा माथिल्लो तहबाट केही दबाब आउन सक्ने हुँदाहुँदै पनि अध्यात्मिक तथा आस्तिक भावना बृद्धि भई धार्मिक कार्य सम्पादन हुन सक्ने छ । व्यापार व्यवसायमा राम्रै लाभ गर्न सकिने गोचर परेको छ । सत्यमा रहने र साहस एवम् दृढता बढाउनाले आउन सक्ने अपजस आदिलाई प्रतिकार गर्न सकिने छ । यात्रा योजना एवम् नयाँ कार्यको चिन्तन तथा थालनीलाई गोचरले संकेत दिइरहेको छ । पेशागत केही लाभ पनि हुने देखिन्छ । नौ अंक पहेलो रंग र धार्मिकजनको आशिर्वाद लिनु यहाँको लागि आज उपयुक्त हुनेछ ।

मकर : आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने देखिएको छ । चन्द्रमा लगायतका ग्रहहरुको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्य र गर्न लागेको कार्यमा प्रभाव पार्ने देखिन्छ । समयको प्रतिकूलतालाई नबुझि अजबर्जस्त गर्नाले पश्चातापमा पार्नसक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहार-विहारमा होसियारी अप्नाउने र फजुलका विषयमा मन नदिने गर्नु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्नसक्नु हुनेछ । आज यहाँलाई आठ अंक, रातो रङ्ग र आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु हितकर हुनेछ ।

कुम्भ : आजको दिन विपरित लिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद-प्रमोदको चाहनामा बृद्धि हुनेछ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्न सक्ने छ । सुरम्यस्थानको यात्रा हुन सक्ने तथा आफन्तजनसँग भेटघाट हुनपाइने छ । विवाहको प्रस्ताव आउन सक्ने तथा प्रेमसम्बन्ध गाँसिन सक्ने कुरालाई पनि नकार्न सकिन्न । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने गौरीशङ्कर भगवानको दर्शनभक्ति गर्नुले शुभत्वलाई वृद्धि गर्न मद्दत हुनेछ ।

मीन : आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि गन्तव्य चुम्न संघर्ष देखिएको छ । गोचरको केही विपरितताको बाबजुत पनि बल एवम् साहस बढ्ने दिन छ, उन्माद्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । शर्त कम गरेर विपक्षीसँग सम्झौता हुन पनि सक्नेछ । लक्ष्मीको कृपा हुने हुनाले व्यवसायिक उन्नति हुन गई आर्थिक भार हल्टो हुनेछ । कसैकसैलाई स्नायु तथा नशासँग सम्बन्धित विमारको सम्भावना छ स्वास्थ्यमा ख्याल पुर्याउनु होला । आज यहाँलाई भैरवदेवको श्रद्धाभक्ति वा मान्यजनको आर्शिवाद फापकर हुनेछ ।

साइतः सूर्य धनु चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    काल बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     शुभ बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     रोग बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    उद्वेग बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   चर बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      लाभ बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     अमृत बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ