arrow

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार

तुलसीपुर । दाङ राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहेकी छन् । छोराको गाडीको ठक्करबाट मृत्युपछि उनी बिरामी पर्दै आएकी थिइन् । त्यही क्रममा बाटामा हिँडिरहेको अवस्थामा मानव सेवा आश्रम तुलसीपुरले गएको साउन महिनामा उद्धार गर्‍यो । आश्रमले उद्धार गरेर उपचारपछि अहिले उनी मानसिकरूपमा स्वस्थ हुँदै गएकी छन् । “म घर छाडेर हिँडिरहेको अवस्थामा उहाँहरूले देखेर ल्याउनुभएछ, ल्याएको पनि मैले थाहा पाइनँ”, उनले भनिन्, “अहिले म सबै थाहा पाउने भएकी छु ।”

त्यस्तै तुलसीपुर–१२ जसपुर निवासी जयसरा भण्डारी पनि भौँतारिएर हिँडिरहेका थिए। त्यही क्रममा आश्रमले उद्धार गरेर अहिले एक वर्षदेखि आश्रय दिइरहेको छ । यस्तै थुपै्र मानसिक रोगी, साहाराविहीन, सुस्त मनस्थिति भएकालाई उद्धार गरेर उपचार तथा पालनपोषण गर्दै आएको छ ।

संस्थाका शाखा प्रमुख सिर्जना अधिकारीका अनुसार यसरी बेवारिसे अवस्थामा हिँडिरहेकालाई उपचार गरेर परिवारमा पुनःमिलन गराउने कार्य गर्दै आइरहेको बताइन् । उनका अनुसार अहिलेस्म्म २० भन्दा बढीलाई उपचारपछि पुनःस्थापना गरिएको बताइन् । “हामीले ल्याएर उपचार गर्छौँ, खाना, बास दिन्छौँ”, उनले भनिन्, “सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म २०–२२ जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनःमिलनपछि स्वास्थ्यका बारेमा फलोअप पनि हुने गरेको उनको भनाइ छ ।

अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको शाखा प्रमुख अधिकारीले बताइन् । तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई–तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था आउने गरेको प्रमुख अधिकारीले बताइन् । वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेको उनले बताइन् । उक्त संस्था तुलसीपुरमा गएको वर्ष मङ्सिरमा स्थापना भएको हो ।

अहिले सरकरले १५ प्रतिशतसम्म संस्थालाई सहुलियत दिएको भए पनि बाँकी विभिन्न सहयोगी दातामार्फत नै सहयोग सङ्कलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख अधिकारीको भनाइ छ । अहिले तुलसीपुर शाखामा दुई जना केयरगिभर, एक कुक र दुई स्वयंसेवक कार्यरत रहेका छन् । त्यस्तै सामाजिक विकास मन्त्रालयले दुई  नर्स सहयोग गरेको छ । आश्रमको १६  जिल्लामा २३ शाखा छन् । लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगञ्जमा शाखा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ