arrow

सत्ता गठबन्धनको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
gyanendra-bahadur-karki1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि शुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । अहिले पुनः बैठक बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

उनले भने, “गठबन्धन मुलुकको अहिलेको आवश्यकता हो, गठबन्धन दलको बैठक केही समयमा पुनःसञ्चालन हुन्छ, हामी निर्णयमा पुग्छौँ ।” गठबन्धन जनताले निर्वाचनका माध्यमबाट अनुमोदन गरिसकेको र जनताको अभिमतको आफूहरुले कदर गर्ने उनको भनाइ थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदैछ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास जारी छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलले आगामी सरकार गठनका लागि विभिन्न चरणमा छलफल गरी सहमतिको प्रयास जारी राखेका छन् ।

तर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु एमाले अध्यक्ष माधवकुमार नेपालको घरमा गएपछि गठबन्धन लगभग टुटेको बताइन्छ । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।

गठबन्धन दलले आफ्नै आगामी नयाँ सरकार गठन गर्ने सामूहिक निर्णय गरेका छन् भने गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।

हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ