arrow

सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने

logo
रासस,
प्रकाशित २०७९ पुष ११ सोमबार
prachanda-dahal-cabinet-2079-2022.jpg
तस्बिर : रासस

काठमाडौँ। राहदानीका लागि लामा लामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ। राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरे लगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेष गरी राहदानी र सवारी चालक अनुमति पत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमति पत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिए।

प्रधानमन्त्रीले भने, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामा लामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ। त्यसलाई समयभित्रै नियन्त्रण गर्ने गरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ।”

नागरिकले सास्ती नपाउन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उनले जानकारी दिए। उनका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ। देशमा रहेका समस्या समाधानमा केन्द्रित हुने गरी सङ्कल्प गरेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए।

प्रधानमन्त्री दाहालले केही नयाँ गरौँ भन्ने सङ्कल्पका साथ आफूहरू एक ठाउँमा उभिएको बताए। आफ्नो नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा जागेको उनको भनाइ छ। उनले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जस्तो निर्णय आएको छ, त्यसलाई अहिलेको मन्त्रिपरिषद् समेटेको उल्लेख गरे।

प्रधानमन्त्रीले भने, “हाम्रा अगाडि जटिलता र चुनौतीहरू छन्। जनतामा आशा र भरोसा बढेको देखिएको छ। केही नयाँ गरिछाड्नेहरूको सङ्कल्प भएकाको केन्द्री करण भएको छ। त्यस कारण पनि काम गर्न मलाई सहज लागेको छ।” उनले मुलुकको अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, जनतामा सुशासनको प्रत्याभूति गराउने र सेवा प्रवाहमा केन्द्रित हुने गरी पहिलो बैठकमा छलफल भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ