arrow

प्रचण्डलाई विश्वासको मत दिने माधव नेपालको आन्तरिक तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
prachanda-madhavs.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएको र छुट्टै पार्टी बनाएका माधवकुमार नेपालले अन्ततः माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने आन्तरिक तयारी गरेका छन् । 

नेपाल नेतृत्वमा रहेका एकीकृत समाजवादी पार्टीका नेताहरुले अहिलेको वर्तमान सरकारलाई सहयोग गरेर जानुपर्छ भन्ने दबाब अध्यक्ष नेपाललाई दिएसँगै विश्वासको मत दिने तयारी थालिएको हो । 

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि एस पार्टीका अध्यक्ष नेपालले औपचारिक बधाई दिने बाहेक अन्य कुनै पनि प्रकारको राजनीतिक संवाद गरेका छैनन् । 

तर पनि प्रचण्ड प्रधानमन्त्री भएकोमा अध्यक्ष नेपालले खासै चित्त नदुखाएको र विश्वासको मत दिएर सरकारलाई सहयोग गर्ने मनस्थितिमा पुगेको एस पार्टीका सचिवालय सदस्यले बताए । 

नेकपा एस राष्ट्रिय पार्टी हुन नसकेको र कांग्रेसको सहयोगमा प्रत्यक्षतर्फ १० सिट हासिल गरेको थियो । यतिबेला नेकपा एसका नेताहरु विस्तारै नेकपा एमालेका नेताहरुसँग सम्पर्क बढाउन थालेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच पार्टी विभाजनपछि शितनिवासमा पहिलोपटक बोलचाल भएको थियो । सो बोलचाललाई सकारात्मक रुपमा लिँदै नेताहरुले पनि आपसी संवाद शुरु गरेका छन् । 

प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली नेपालबीच सामान्य स्वास्थ्य अवस्थाबारे जानकारी लिने दिने कुरामा बोलचाल भएको थियो । 

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल एकै लाइनमा बसेसँगै ओलीले संवाद शुरु गरेका थिए । बोलचालको शुरुआत ओलीले गरेपछि नेपालले पनि आफ्नो बारेमा बताएका थिए । 

उनले नेपालको स्वास्थ्यको विषयमा सोधेका थिए । ‘तपाईं बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ, अहिले कस्तो छ ? ठीक हुनुभयो ?’ शपथग्रहण भइरहेका बेला नै ओलीले नेपाललाई हातले कोट्याउँदै स्वास्थ्य अवस्थाका विषयमा सोधे । 

ओली बोलेपछि नेपालले पनि मुख खोले उनले घरी–घरी समस्या भए पनि अहिले सुधार हुँदै गएको बताउँदै आपसमा संवाद शुरु गरेका थिए । नेपाल निमोनिया भएर शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए । त्यसबेला नेपाललाई भेट्न निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड अस्पतालमा नै पुगे पनि ओली भने गएका थिएनन् । 

२०७८ वैशाख ३० मा ओली र नेपालबीच चपली हाइटमा भेटघाट भएको थियो । त्यो भेटपछि सायद पहिलो पटक ओली र नेपालबीच शितलनिवासमा भेटवार्ता र कुराकानी भएको थियो । 

नेपालले २०७८ भदौ २ मा एमाले फुटाएर एकीकृत समाजवादी बनाए । ओलीले नेपाल नेतृत्वको पार्टीलाई स्वीकार गरेका छैनन् । २०७७ पुस ५ को पहिलो संसद् विघटनपछि प्रचण्डकै पछि लागेर गएका नेपाल भने नयाँ गठबन्धनमा आएका छैनन् । 

पछिल्लो समयमा नेपाल एक्लिएका छन् । नेपाल १५ वर्ष एमालेको महासचिव र एमालेबाटै प्रधानमन्त्री पनि भएका थिए । तर अहिले नेपाल एक्लिएका छन् । पछिल्लो समय उनी नेपाली कांग्रेससँगको गठबन्धन तोड्न नहुने पक्षमा रहेका थिए । 

तर प्रचण्डले गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न गएपछि प्रचण्डसँग माधव नेपाल हल्का रिसाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ