arrow

अचम्मका स्वास्थ्यकर्मी : जसले शनिबारको दिन खर्चन्छन् विकट बस्तीमा

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ पुष १३ बुधबार
baliraj-budha.jpg

मुगु । हप्ता दिनमा कहिले शनिबार आउला अनि फुर्सद मिल्ला र आफुखुशीका काममा रमाउन् पाइएला भन्दै शनिबार कुरेर अधिकांश कर्मचारीहरू बस्ने गर्छन् ।  तर मुगुमा एक यस्ता कर्मचारी पनि छन् जो शनिबारलाई आफ्नो व्यक्तिगत फाइदामा भन्दा जनताको सेवामा समर्पित गर्ने गर्दछन् । 

सरकारले दिएको बिदाको समय घरपरिवार र घर काममा खर्च नगरी जनताको घरदैलोमा पुगेर सेवा दिने ती कर्मचारी हुन मुगु जिल्ला मुगूम कार्मारोङ गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक बलिराज बुढा ।

हप्तामा ६ दिन पालिकाको स्वास्थ्य शाखामा व्यस्त रहने बुढा महिनाका २ शनिबार पालिकाका २ दुर्गम गाउँ बस्तीहरूमा पुगेर स्थानीयहरूको स्वास्थ्य चेकजाँच गर्ने,औषधी दिने,स्वास्थ्य सल्लाह दिने र आफ्नो काबु भन्दा बाहिरका जटिल बिरामी र उपचार भए उपयुक्त स्वास्थ्य संस्थाहरूमा जान सुझाव दिने गदै आएका छन् । 

नि:शुल्क सेवा भावले गत जेष्ठ १८ गतेबाट यस्तो जनसेवाकारी कार्य गदै आएका बुढाले गाउँमा युवाहरु भन्दा महिला,वृद्ध,बालबालिका,अपाङ्ग,विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राखेर ६ महिना भित्रमा ९०० जना भन्दा बढी व्यक्तिहरूलाई निःशुल्क आफ्नै लगानी खर्चमा स्वास्थ्य परामर्श,सामान्य चेकजाँच र दन्त सेवा दिएका छन् । 

जिल्लाका ४ स्थानीय तहमध्ये मुगूम कार्मारोङ गाउँपालिका विकट र यातायात पहुँच नपुगेको गाउँपालिका हो, यहाँका बस्तीहरू पालिका केन्द्र पुलुबाट कम्तिमा १ देखि ५ घण्टा पैदल दुरी टाढा रहेका र त्यहाँ पुग्न पनि उकालो चढ्नु पर्दछ । 

मुगूमका गाउँहरूमा कोही बिरामी परे हुने खानेले सदरमुकाम गमगढी देखि सुविधा सम्पन्न ठाउँहरूमा आफ्ना बिरामीलाई उपचारका लागी पुर्‍याउने गर्दछन् भने गरिबहरू सन्चो भए पनि नभए पनि गाउँघर मै परम्परागत उपचारमा विश्वास गरि बस्ने गरेका छन् । 

गाउँमा रहने ती गरिबहरूको पिडा आफुले देखि रहँदा म मा रहेको स्वास्थ्य ज्ञान किन ती गरिबको सेवामा समर्पित नगर्ने भन्ने लागेर आफुले ६ महिना अघिबाट प्रत्येक महिनाका २ शनिबार २ गाउँमा पुगेर निस्वार्थ रूपमा स्वास्थ्य सेवा दिने कार्य गदै आएको र यो कार्यमा गाउँमा रहेका महिला स्वास्थ्य स्वयंसेविका,आमा समूह, स्वास्थ्यकर्मी हरूले समेत निःशुल्क सहयोग गदै आएको स्वास्थ्यकर्मी बलिराज बुढाले बताए । 

आफू गाउँमा जाँदा आफुले चेकजाँच गर्ने बिरामीहरू मध्य उच्च रक्तचाप, हाडजोर्नी दुख्ने,पेट तथा जुकाको समस्या,दाँत,गिजाको समस्या ,दम रोगी र छालाको समस्या भएका रोगी बढी भेटाएको पनि बुढाले बताए ।

बुढा शनिबार गाउँमा जाँदा जनताको स्वास्थ्य चेकअप,दाँतको उपचार र स्वास्थ्य सल्लाह मात्र दिँदैनन् चेकअप पछि आवश्यक औषधी किन्ने क्षमता नभएका विपन्न परिवारलाई आफैले औषधी किनेर दिने समेत गरेका छन् । 

नियमित शनिबार घरदैलो उपचार कार्य अन्तरगत पुस महिनाको पहिलो शनिबार बुढा मुगूम कार्मारोङ गाउँपालिका वडा नं ३ अन्तरगत पर्ने विकट गाँउहरु ताखा र खारी पुगेका थिए । ती गाउँमा रहेका काखे बालक देखि ९० वर्षीया जेष्ठ नागरिकहरूको दाँतको उपचार गर्ने, स्वास्थ्य चेकअप गर्ने र आफूसँगै लिएर औषधी निःशुल्क प्रदान गर्नुका साथै स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सल्लाह दिने काम गरेको ताखा गाउँका अनमी याङ्गजिन ल्यामु लामाले जानकारी गराइन् ।

 ताखा गाउँ की ८९ वर्षिया कोन्ज्योक फुटिक लामा श्वास प्रश्वास रोग (दम)को दिर्घरोगी हुन् गाउँ मै थलिएकी जेष्ठ नागरिक लामालाई नियमित कार्य अन्तरगत बुढा गाउँमा गएपछि सबै चेकजाँच पछि स्वास्थ्य सल्लाह र खानपान बसाई बारे सुझाव दिएपछि उनलाई क्रमशः सुधार र सहज हुँदै गएको वडा नं ४ का वडा अध्यक्ष पेमा छोईदाक लामाले बताए ।

 गाउँमा बुढा नियमित जाने भएपछि सबैले उनलाई डाक्टर समेत भन्ने गरेको र उनको सेवाबाट सबै गाउँले खुशी भएको पनि वडा अध्यक्ष लामाले बताए । 

गाउँपालिकामा एउटा सामुदायिक अस्पताल र १२ वटा स्वास्थ्य संस्थाहरू भए पनि विकटता,न्यून सेवा सुविधा र स्वास्थ्य सामग्रीहरूको उपलब्धता नहुँदा अस्पतालमा चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मी नहुनु र स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नियमित नबस्नुले यो क्षेत्रका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् भने विकटता र यातायातको सुविधा नहुँदा स्वास्थ्य संस्थासम्म गर्भवती महिला ,बिरामी बालबालिका,जेष्ठ नागरिक जान सक्दैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ